प्रभात सुवेदीको कविता “विश्व परिवेश”
नचिन्ने जनले भुक्छन् भुक्न देऊ अझै अरू
नचिन्दा श्वान हो भुक्ने चिन्दा शान्त हुने बरु ।
नौमती या त कर्नाल कानैमा बज्छ तापनि
हात्तीको चालझैँ लम्की बढ्छ कर्म यही भनी ।
हाँगाको कर्म हो झुक्ने मजाले फल फल्दछ
गहना सुनका बन्छन् ताते खारिन्छ गल्दछ ।
बेकाम बस्छ जो प्राणी फण्डा मच्चाउने अती
बिगार्ने तिनको बानी पार्छन् मार गरी खती ।
दुनिया भाँडमा जाउन् भन्छ जो मस्तले रमूँ
अरूका श्रमले आफू धनी होऊँ यहीँ जमूँ ।
सबै ठाउँ थुकेको छ छैन खाली कहीँ कतै
सत्तादेखि तलैसम्मन् छ दुर्गन्ध जताततै ।
बुद्धि भ्रष्ट हुँदो देखेँ मान्छे यो दिनका दिन
नराम्रो कर्म हो जानी लीन हो त्यसमै किन ।
ममता छैन झैँ लाग्छ छ दुःखी यो वसुन्धरा
स्वयम् माता बिरामीझैँ भन्छ खै को कठैबरा !
सुनिन्छन् त्रासदी मात्रै अहिले विश्वमा पनि
बढेमा विषको मात्रा के होला धरती अनि ।
जल, जङ्गल, माटोको गरौँ है ममता अति
लगाऔँ बोट खाली छन् खेतबारी सबै जति ।
प्रभात सुवेदी, २०८०/०७/२४ गते, गुलरिया, बर्दिया
Facebook Comments