• २३ मंसिर २०८०, शनिवार
  • ९ °C काठमाडौं
लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा 'खिचडी' बिमोचन

बर्दिया । नेपाली समाजमा प्रचलित खिच्रो खासगरी माघी अर्थात माघे सङ्क्रान्तिका दिन खाइने प्रचलन रहेको छ । यसलाई खिचडी पनि भनिन्छ । चामल, दाल, अदुवा, अनेक प्रकारका हरिया सागसब्जी, गेडागुडी, घिउ लगायतका सामाग्रीहरुको समिश्रणबाट नै खिच्रो तयार गरिन्छ । जुन परिकार नेपाली समाजमा निकै प्रचलनमा रहेको छ । पौष्टिकताले भरिपूर्ण हुने भएकोले हरेक नेपालीको भान्सामा खिच्रो पाक्ने गरेको पाइन्छ । यहाँ खाइने खिच्रो भन्दा पनि विभिन्न साहित्यका विधाहरुको संकलन गरिएको कृति खिचडी अर्थात खिच्रोको लोकार्पण बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा गरिएको छ । 


नेपाली साहित्य आकाशका युगपुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्म जयन्ती, दीपावली, छठ तथा नेपाल संवत् ११४४ को सुअवसर पारेर भेरी साहित्य समाजद्वारा आयोजित एक साहित्यिक कार्यक्रममा यो कृतिको लोकार्पण गरिएको हो । वि.सं. २०१२ सालमा गुल्मीमा जन्मिएर २०२८ सालदेखि शिक्षण पेशामा प्रवेश गर्नुभई ४४ वर्षसम्म अध्यापन गरी हाल निवृत्त जीवन व्यतित गरिरहनु भएका मान बहादुर ज्ञवालीले आप्mना जीवनका अनुभूति र अनुभवहरु सँगालेर साहित्यका विविध विधाहरु कविता, नियात्रा, गीत, निबन्ध, कथा, व्यङ्य, मुक्तक, भजन, टुक्का, विलौना, आत्मपरक लेखबाट सामाजिक विषयवस्तुहरु समेटेर लेख्नु भएको कृतिलाई भेरी साहित्य समाजले प्रकाशन गरेको हो । कृतिमा ३२ ओटा सिर्जनाहरु समेटिएको छ । 


चर्चामा आउन नचाहाने  वहुआयामिक व्यक्तित्व मान बहादुर ज्ञवाली कुशल चित्रकार पनि हुनुहुन्छ । वहाँले यो कृति कोरोना कालमा लेख्नुभएको थियो । यसलाई कोरोनाकालको ऐतिहासिक दस्तावेजका रुपमा पनि लिन सकिने कार्यक्रमका सहभागीहरुले बताउनुभयो । वहाँ ठट्टा गर्दै भन्नुभयो, “हामीले पढ्ने क्रममा पहिला अङग्रेजीको ‘ए’ अक्षर सिक्यौँ भने कसरी बिमोचन हुन्छ र ? यो त एमोचन भयो अब अर्को कृति लेखेँ भने बिमोचन गरौँला ।” भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतित्थ्यता सांस्कृतिक अद्येता अयोध्याप्रसाद श्रीवास्तवले गर्नुभएको थियो । वहाँले नेपालमा धर्म, संस्कृति, साहित्य र सिर्जनशीलताका क्षेत्रमा आएको दूरावस्थाका बारेमा चिन्ता व्यक्त गर्नुभयो । 


भेरी साहित्य समाजका पूर्व अध्यक्ष तथा समाजका केन्द्रीय सदस्य टीकाराम तिमिल्सिनाले आजभोलिका सर्जकहरुमा अध्यननको कमी भएको प्रसङ्ग उठाउनुहुँदै देवकोटाका कृतित्वबारे चर्चा गर्नुभयो । धरा भाषा साहित्य कला प्रतिष्ठान बाँसगढीका सचिव हरि सुवेदीले महाकवि देवकोटाको कृति तथा व्यक्तित्वका बारेमा प्रकाशपार्दै रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नारायण भट्टराई, आदित्य भुर्तेल, सौरभ खनाल, अनुप भुर्तेल, अभिनन्दन सुवेदी, प्रश्ना सुवेदी, विक्रम कार्की, प्रवेश सुवेदी, प्रकाश पौडेल लगायतका सर्जकहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रमको आकर्षक सारेगमप लिटिल च्याम्सका टप टेन प्रतिष्पर्धी तथा बर्दियाका गौरव गायक संजिव चौधरीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीतहरु ईश्वर तैँले र त्यसैगरी कुन मन्दिरमा जान्छौ यात्री प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको सहजीकरण भेरी साहित्य समाज बर्दियाका सचिव प्रभात सुवेदीले गर्नुभएको थियो । वि. सं. १९६६ कार्तिक २७ गते ‘लक्ष्मीपुजा’ को दिनमा काठमाडौँको डिल्लीबजारमा जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको हरेक वर्ष लक्ष्मीपूजाका दिन जन्म जयन्ती मनाइन्छ । नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध देवकोटा कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी शशक्त प्रतिभाका रुपमा परिचित छन् । देवकोटाका मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू छन् जसमध्ये सबैभन्दा लोकप्रिय कृति मुनामदन हो । महाकवि देवकोटाको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments