भुरिगाउँ–तेलपानी–ढाडबास वनपथले दिएको खुशी
मुरली गोडिया, गुलरिया, । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने भुरिगाउँ–तेलपानी–ढाडबास वनपथको वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोले शिलान्यास गर्नुभएको छ । निकुञ्जको टोलीलाई गस्ती सँगै सुर्खेतको तेलपानी क्षेत्रका स्थानीय बासिन्दालाई आउजाउमा सहज हुने अपेक्षा गरिएको छ । वन तथा वातावरण मन्त्री महतोले पूर्वपश्चिम राजमार्गमा पर्ने आम्बासा चेक पोष्ट नजिक भुरिगाउँ, तेलपानी, ढाडबास वनपथको शिलान्यास गर्नु भएको हो ।
वन वन्यजन्तु र प्रकृतिको संरक्षण गर्नका लागि निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका लागि वनपथ आवश्यक रहेको र सुर्खेतको तेलपानी क्षेत्रका बासिन्दालाई आउजाउ गर्न सहजताका लागि पनि वनपथ खुलाइएको बताउनुभयो । मन्त्री महतोले भुरीगाउँ तेलपानी र ढाडबास वनपथले यस क्षेत्रका जनताको आशा, अपेक्षालाई तीन महिना भित्र सुरु गरि देखाएर पुरा गर्ने बताउनुभयो । उहाँले बर्दियाको भुरिगाउँ हुँदै सुर्खेतको तेलपानीसम्म वनपथ निर्माण भैसकेपछि ठाकुरबाबा नगरपालिका मात्र नभइ लुम्बिनी प्रदेशकै विकास र समृद्धि हुने बताउनुभयो । सवैकुरा सरकारमाथी भर नपर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
केन्द्र सरकारले १० लाख बजेट छुट्याएको, अन्य माननियले १० लाख, प्रदेश सरकार बाट १० लाख र नगरपालिकाले १० लाख लगाए कार्य सम्पन्न हुने मन्त्री महतोको भनाई छ । निकुञ्जलाई पनि समय र परिस्थती अनुसार सोंच परिवर्तन गर्नुपर्ने बताउनु भयो । निकुञ्ज आसपास जान नपाउने, केही बनाउन नपाइने लगायतको भ्रम हटाउनुपर्ने बताउँदै त्यसलाई अपनत्व कसरी गर्न सकिने त्यस तर्फ सोंच्नुपर्ने अवस्था आएको बताउनु भयो । आरक्षको नियम कानुन देखाएर मात्र होइन स्थानियलाई निकुञ्ज मार्फत हुने फाइदाको बारेमा विचार गर्नुपर्ने समय आएकोमा जोड दिनु भयो । व्यवस्थीत र बैज्ञानिक तबरबाट समृद्धि ल्याउन सकिने तर्फ लाग्नुपर्ने बताउनु भएको छ । भुरिगाउँदेखि तेलपानीसम्म २० किलोमिटर र कर्णाली प्रदेशसम्म बर्दियालाई जोड्ने सडकको लम्बाइ ५२ किलोमिटर रहेको छ । सुर्खेतबाट कोहलपुर हुँदै बर्दिया पुग्न करिब १ सय ३५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ ।
कर्णालीका नागरिकले विगत २०२५ साल झण्डै ५५ वर्ष अघिदेखि नुनदेखि लत्ता कपडा लिन आउने, औषधी उपचार गर्न आउँदा पहिले पनि अहिले पनि डोकोमा बोकेर ल्याईने सबैभन्दा छोटो प्रमुख मार्ग थियो, स्थानीय बासीन्दा होस् वा भित्र रहेका पोष्टका सेना हुन् अहिले पनि बिरामी पर्दा डोकोमा बोकेर ल्याइन्छ नगरप्रमुख लम्सालले भन्नुभयो । कार्यक्रममा सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हृदयराम थानी, लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीना, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, प्रदेश सभा सदस्य राजकुमार चौधरी, जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सुर्खेत बराहताल गाउँपालिकाका अध्यक्ष लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायत संरक्षणकर्मीहरूको सहभागिता रहेको थियो ।
Facebook Comments