बर्दियाको हात्तीसारमा रहेका हात्तीहरुको स्वास्थ्य परिक्षण
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्लामै पहिलो पटक हात्तीको स्वास्थ्य परिक्षण गरिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षण कोष बर्दिया, पशु चिकित्सक, स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको सहभागीतामा १३ वटा पालुवा हात्तीको स्वास्थ्य परिक्षण गरिएको बताईएको छ । शिविरमा हात्तीहरुलाई जुकाको औषधि खुवाउने, रगत जाँच गर्ने देखी फुट ट्रीमिङ (नङ काट्ने), र क्षयरोग (टि.बी.) को जांच गरिनेछ । हात्तीलाई ६/६ महिनामा जुकाको औषधि खुवाउने गरिन्छ । जुकाको औषधि नियमित खुवायो भने हात्तीको पेटको समस्या नहुने पशु चिकित्सक बताउँछन् । हात्तीको स्वास्थ्य पत्ता लगाउन रगतको नमुना संकलन गरिएको छ । उक्त नमूनाबाट रक्तकोषहरुको अवस्था तनाव र पोषणको अवस्था पत्ता लगाइने जनाईएको छ ।
हात्तीको कानबाट निकालिएको रगत मार्फत बायो केमिस्ट्री एनालाइसिस गरि शरीरमा रहेको हर्मोनको अवस्था पत्ता लगाइन्छ भने हेमाटोलोगीबाट रक्तकोषहरुको अवस्था बुझ्ने गरिन्छ । हात्तीलाई तनाव बढी छ कि, शरीरमा पौष्टिक तत्वको अवस्था कस्तो छ अथवा अन्य रोग छ कि भन्ने बारेमा रगतको परिक्षणबाट मात्रै थाहा हुने गर्द्छ । हात्तीमा सबैभन्दा ठुलो समस्या नङको हो । नियमित रूपमा नङ काटिएन भने हात्तीलाई हिड्नै मुस्किल पर्छ । त्यसमा बेवास्ता गर्यो भने खुट्टा कमजोर हुँदै जान्छ तर जंगली हात्ती माथी कसैको हैकम नचल्ने भएकोले उसले आफ्नो अंगको ब्यवस्थापन आफै गर्ने भए पनि पालुवा हात्तीको ब्यवस्थापन मान्छे गरिदिनुपर्ने हुन्छ ।
हात्तीमा देखा पर्ने समस्या मध्ये ४० % समस्या खुट्टामा देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठले बताउनु भयो । बर्दियामा पालुवा हात्तीहरुको आधारभुत स्वास्थ्य परिक्षण गरिएको पहिलो हो । हात्तीको खानपान हिडाई चालचलन शारीरिक बनावट साथै अरु कुनै समस्या छ कि भनी स्वास्थ्य परिक्षण गरेका छौं । उहाँले भन्नुभयो हात्ती सफारी गर्दा उसको अधिकार हनन गर्नुहुदैन, उसले समयमा खाना खान पाउनुपर्छ, । जति खान पाउनुपर्छ, ओभरलोड हुनुहुदैन, दिनमा कति सफारी गर्ने एकपटकमा कति जना मानिस चढाउने भन्ने बारेमा मुख्य रूपमा हात्तीको कल्याण हेर्नुपर्छ फाइदाको रुपमा हेर्नुहुँदैन । हात्ती प्रजनन केन्द्र हात्तीसारमा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया केएसीएफ फन्डको सहयोगमा संचालन भएको हो ।
Facebook Comments