• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
दसैंको राजनीतिकरण र आजको सन्दर्भ

राजेन्द्रप्रसाद धिताल, बर्दिया । राजनैतिक उपलब्धिका दृष्टिले हामी राम्रो समयमा छौं । हामीसँग लोकतान्त्रिक विशेषताले भरिपूर्ण संविधान छ । हामी आज मानव जातिले अभ्यास गरेर अहिलेसम्मकै आदर्श मानेको संघीय लोतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं । हामी त्यो भाग्यमानी पुस्ता हौं, जसले दुनियाँलाई विस्मित पार्ने २०६२/०६३ को ऐतिहासिक क्रान्ति गर्यौ, देख्यौं र भोग्यौं । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना त्यति सहज कुरा होइन, हिंसात्मक सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएर व्यवस्थापन गर्ने कार्य झनै जटिल कुरा हो । हाम्रो राजनैतिक नेतृत्वले त्यो कौशल देखायो जुन संसारको राजनैतिक इतिहासमा दुर्लभ प्राय छ । यो महत्वपूर्ण काम राजनैतिक दलहरुबीचको एकता र मेलमिलापबाट सम्भव भएको हो । राजनीतिक शक्तिहरू बीच एकता हुन् सकेमा राष्ट्रलाई सही तरिकाले निकास दिन सकिन्छ भन्ने बलियो प्रमाण इतिहासले हामीलाई पटकपटक प्रस्तुत गरेको छ ।


नेपाली राजनीतिमा एउटा विडम्वना हामीले जहिलेसुकै महसुस गरेका छौं । हाम्रो नेतृत्वले राजनैतिक आन्दोलन सफलता पूर्वक सम्पन्न गरेको छ । तर क्रान्तिपछि मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न हाम्रा राजनैतिक शक्तिहरू सर्वथा कमजÞोर सावित भएका छन् । राजनैतिक परिवर्तन पश्चात नागरिकले समृद्धिको अपेक्षा गरेका हुन्छन् । त्यो अपेक्षाको समुचित सम्बोधन हाम्रा राजनैतिक अभियन्ताहरुबाट हुन सकेको छैन । राजनीतिक परिवर्तनले अपेक्षा गरेको संस्कृति निर्माण गर्न र तदनुकुल जनशक्ति निर्माण गर्न पनि हामी उदासिन रह्यौ, परिणाम हाम्रा  सामु छ विद्यमान निराशा । २०४६ को परिवर्तनलाई सही तरिकाले व्यवस्थित गर्न नसक्दा हामीले १० वर्षे हिंसात्मक बिगत भोग्यौं र अन्तत निरंकुश राजतन्त्रले व्यवस्थालाई अपहरण गर्यो । राजतन्त्र बिरुद्धको क्रान्तिले युगान्तकारी परिवर्तन ल्यायो र आज हामी यो अवस्थामा छौं ।


अहिले पनि नागरिक खुसी छैनन् । परिवर्तन नागरिकको जीवनमा अनुवाद हुन सकेन भन्ने आम जन गुनासो छ । सुशासनको अभाव प्रत्यक्ष खड्किएको छ । जनजीविका कष्टकर छ । क्रान्तिको कुशल नेतृत्व गर्ने हाम्रा नेताहरुलाई आज समाजमा खलनाकका रुपमा चित्रण गरिँदैछ । जनताको निराशाको स्तर निरन्तर बढ्दो छ । मूलधारमा रहेका राजनैतिक नेतृत्वको राजनीतिक शाख र शासकीय कौशल निरन्तर घट्दो छ । यसले यो व्यवस्था मन नपराउनेहरुलाई ठूलो अवसर प्रदान गरेको छ । उनीहरू व्यवस्था विरुद्ध जोड़तोडका साथ लागेका छन् । यसैबीच हामीले सांस्कृतिक पर्व दसैं मनायौं । दसैंलाई राजनीतिकरण गर्ने विषयले पनि निकै चर्चा पायो । सामान्यतया दसैं नेपालका सबै पर्वहरूको तुलनामा राष्ट्रिय चरित्र बोकेको पर्व हो । त्यसैले दसैंलाई नेपालको राज्यसत्ताले परापूर्वकालदेखि नै राजनीतिकरण गर्दै आएको छ । 


राजनैतिक रूपमा राष्ट्रिय मेलमिलापको नीति सहित २०३३ सालमा प्रवासबाट स्वदेश फर्केपछि विश्वेश्वर प्रसाद कोइरालाले दशैंको अवसरमा चिया पान कार्यक्रमको आयोजना गरेर वृहद राजनैतिक एकताको प्रस्ताव गरे पश्चात दशैंमा एक नौलो राजनीतिक संस्कृतिको शुभारम्भ भएको भेटिन्छ । अहिलेका राजनैतिक पार्टीहरुले गर्ने गरेका चियापानहरु फगत कर्मकाण्डी प्रकृतिका छन् । यस व्यवस्थाको सर्वोच्च उपलब्धिका रुपमा रहेका राष्ट्रपति संस्थाले आयोजना गर्ने टिका लगाइदिने प्रचलन पनि फिका बन्दै गएको अनुभूति हुदैछ । त्यसको ठाउँ व्यवस्था विरोधीहरूले लिइरहेका छन् । विस्थापित राजतन्त्र बौरिन खोजिरहेको छ । दसैंको राजनीतिकरण प्रकरणले उल्टो बाटो समातेको छ । 


सत्ता विचार विवेक शून्य भएको कारण व्यवस्था बदनाम हुदैछ । राजतन्त्र रूपी प्रेत व्युझिन खोज्दैछ । लोकतन्त्रवादी संस्था तथा व्यक्तिहरू सचेत हुन आवश्यक छ । दसैं जस्ता जनताका पर्वहरुलाई वैचारिक र सुसंकृत बनाउँदै जनताको पक्षमा राजनीतिकरण गरिनु आवश्यक छ । भ्रष्टाचार, कुशासन, सामाजिक विकृति र भेदभाव विरुद्ध राजनीतिक र सांस्कृतिक विमर्श घनीभूत बनाइनु आवश्यक छ । धर्मान्धता र रूढिवाद सहयुगममा पर्वको व्यापारीकरण गर्ने र प्रकारान्तरमा प्रतिगामी राजनीतिलाई बल पुर्याउने प्रवृत्ति विरुद्ध निर्मम अभियानको नेतृत्व लोकतन्त्रवादी व्यक्ति तथा संस्थाहरुले लिन बिलम्व गर्नु हुँदैन ।


(धिताल नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष, हाल बबई बहुमुखी क्याम्पस बर्दियाका प्राध्यापक हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments