भौराक्षेत्रमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दै
पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको भौरा क्षेत्रमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा करिब ८० प्रतिशत किसान रहे पनि पछिल्लो समय व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढेको हो ।
तरकारी बिक्रिका लागि कुनै समस्या नरहेको र तुरुन्तै हातैहात नगद पाईने भएकाले व्यवसायिक तरकारी खेतीतर्फ किसानको रुचि बढेको राजापुर नगरपालिका ३ मुरैयाका किसान कन्हैया थारुले बताउनु भयो । हरेक काममा जाँगर र मेहनत आवश्यक पर्ने वताउँदै उहाँले आफु कमैयाबाट माथि उठेर जग्गा भाडामा लिएर तरकारी खेतीगर्दै राम्ररी आर्थिक उपार्जन गरिरहेको वताउनु भयो । गेरुवा गाउँपालिका ४ का किसान लौटी थारुले तरकारी उत्पादन गरेर समय समयमा वजारको अभाव हुने वताउनु भयो । छिट्नी र खैचामा राखेर वजार घुमाउँदा समय खेर जाने र कहिले काही घर फर्काएर ल्याउनु पर्ने दुखेसो पोख्दै पालिकाले बाहिर निकासी गर्ने व्यवस्था गर्न सके तरकारी खेतीमा अझै धेरै किसान र युवा पुस्ताको आकर्षण हुने उहाँको भनाई छ ।
तरकारी खेती गर्ने किसानले कृषि शाखाबाट वास्तविक किसानलाई अनुदान सहित सहयोग गरेमा किसानलाई हौसला हुने वताउँदै आएका छन् । राजापुर नगरपालिका कृषि शाखाका नायव प्राविधिक सहायक रमेश वलीले जीवन निर्वाहका लागि मात्रै तरकारी खेती हुने भौरा क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढेको वताउनु भयो । पालिकामा कृषि शाखा भएपछि किसानलाई सेवा दिन सहज भएकाले युवा पुस्ता पनि तरकारी खेतीमा लागेको दावी गर्नु भयो । कृषि शाखामा आउने किसानलाई विभिन्न समयमा दिइने सल्लाह सुझाव र परामर्श, स्थलगत अवलोकन, बीउ विजन र विषादीको वितरणले किसान आकर्षित भएकोले बजारी करणको राम्रो सुविधा भए यहाँका किसानको जीवन स्तर अझै स्तरीय हुदै जाने उहाँको भनाई छ ।
Facebook Comments