fbpx

गेरुवाका किसानको आम्दानीको श्रोतबन्दै स्मार्ट बाख्रा पालन

गेरुवाका किसानको आम्दानीको श्रोतबन्दै स्मार्ट बाख्रा पालन

मिन अधिकारी, गेरुवा । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ४ तिनघरुवाकी सुनिता थारु बलियो खोर गोठ नहुँदा दिक्क थिईन् । पशु ब्यवसायका लागि राम्रो खोर नहुँदा, गाई, गोरु भैसी लगायत बाख्रा पालनमा कठिनाई भोग्नु पर्यो । उनले बाख्राको खोर नहुँदा गाईभैसीकै नजिक राखेर पाल्ने गरेकी थिईन् । जसका कारण कहिले गाईभैसीले बाख्रालाई हान्ने त कहिले बाघले मार्ने समस्या झेलिन् ।

अब सुनिताको अवस्था फेरिएको छ । स्मार्ट बाख्रा पालन गाउँ बनेपछि उनले राम्रो खोर निर्माण गरिन् । अब बाख्राको सुरक्षा हुनेमा सुनिता ढुक्क छिन् । अब उनले नयाँ खोर निर्माण गरेर बाख्रा पालन सुरु गरेकी छन् । उनी व्यवसायिक रुपमा बाख्रा पालन गर्न कम्मर कसेकी छिन् । उनको राम्रो खोर बनाउने सपना भने स्मार्ट गाँउले पुरा गर्यो ।

गएको वर्षबाट संचालनमा ल्याइएको गेरुवा गाँउपालिका वडा नम्वर ४ तिनघरुवामा गत आर्थिक वर्षमा लुम्विनी प्रदेश सरकार मार्फत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले स्मार्ट कृषि गाँउ मार्फत लबाख्रा पालन कार्यक्रम संचालन गरेपछि सुनिता जस्तै ५४ घरधुरीको सपना पुरा हुँदै गएको सुनिताले भनिन् ।

चार वर्षका लागी गेरुवा गाँउपालिका वडा नं ४ तिनघरुवामा संचालनमा रहेको उक्त कार्यक्रमका लागी पहिलो वर्ष ५० लाख अनुदान, दोस्रो वर्ष ४० लाख, तेस्रो वर्ष ३५ लाख र चौथो वर्ष २५ लाख अनुदान प्रदेश सरकारले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरीया मार्फत लगानी गरिरहेको छ । अहिले स्मार्ट कृषि गाँउ बाख्रा पालन कार्यक्रमको दोस्रो वर्षमा प्रबेश गरेको छ ।

स्मार्ट गाँउ कार्यान्वयन समितिले पहिलो वर्षमा खोर निर्माण, बाख्रा बोका वितरण, धारा निर्माण, मोटर पाइप, घाँसको विउ, डालेघाँस, आवश्यक औषधी, मिनरल, भिटामिन लगाएत वितरण गरिएको समितिका संयोजक कालुराम थारुले जानकारी दिए । उनले भने पहिलो वर्षमै खसी बनाउने मेसिन १० वटा, डिजिटल तराजु २ वटा, कम्प्युटर, प्रिन्टर, कार्यालय भवन निर्माण, कार्यालय संचालनका लागी फर्निचर तथा अन्य सामाग्रीहरु पनि खरिद गरिएको प्रष्ट्याए ।

स्मार्ट कृषि गाँउमा अहिले हरेकको घरमा नयाँ सुरक्षित खोर निर्माण भएका छन् । बाख्रा पालनका लागी डाले घाँस लगाउने, भुई घाँस लगाउने गरिएको समितिका सचिव यज्ञ राज थारुले जानकारी दिए । पहिले १, २ वटा बाख्रा पाल्नेहरु स्मार्ट गाँउ कार्यक्रम संचालनमा आाएपछी ७ देखी ११ वटा सम्म बाख्रा पाल्ने गरेका छन् । गत वर्ष देखि ९२ वटा खसी स्मार्ट गाँउका किसानहरुले विक्रि गरिसकेको थारुले जानकारी दिए ।

स्मार्ट कृषि गाँउको दोस्रो वर्षको कार्यक्रम संचालन भैरहेकोले यसपालि ४० लाख प्रदेश सरकारले अनुदान दिएको छ । स्मार्ट कृषि गाँउका सवै खोर एकै डीजाइनमा निर्माण भएका छन् । दोस्रो वर्षमा हरेक किसानकोमा निर्माण गरिएको खोरको मर्मत तथा सुधार तारको जालि लगाउने, औषधी, भिटामिन, मिनरल वितरण गर्ने तालिम सचालन गर्ने, १ वटा बाख्राको नमुना खोर निर्माण गर्ने, १ वटा दाना उद्योग स्थापना गर्ने, कृषि सुचना केन्द्रमा नेट जडान गर्ने, वोर्ड निर्माण गर्ने, प्रत्येक घरमा १० डाले घाँस रोपने, घाँस तथा दाना खाने डुँड निर्माण गर्ने कार्यक्रम छ ।

त्यस्तै एजोला खेति प्रदर्शन गर्नेृ, परजिवि नियन्त्रण शिविर संचालन गर्ने, डाले र भुई घाँसकोे नर्सरी स्थापना गर्ने, बर्षे घाँसको विउ वितरण गर्ने, सुपरनेपियर घाँसको सेट्स वितरण गर्ने,मिनिरल ब्लक निर्माण गरि वितरण गर्ने, साइलेज उत्पादन गरि वितरण गर्ने, खोप सेवा गर्ने, नश्ल सुधारको लागि बोयर बोका २ पाठी ४ र जमुनापारी बोका २ पाठी ४ खरिद गरि वितरण गर्ने लक्ष्य लिईएको छ ।

बजार विस्तारका लागि सुधारीएको मासु पसल निर्माण गर्ने, डिपिङ्ग टयाङ्ग खरिद गर्ने, रोग निदानका नमुना संकलन गर्ने, स्थानियतहका प्राविधिक तथा सरोकारवालाहरु संग अनतक्र्रिया गर्ने, प्रविधि विस्तार गर्ने, कृषकहरुको लागि हाते पुस्तक प्रकासन गर्ने, क्षमता विकास तालिम गर्ने, रेडियो प्रसारण गर्ने, सवै बाख्राहरुलाई विमा गराउने लगाएतका क्रियाकलाप रहेका छन् । उत्कृष्ठ किसानलाई उचित पुरस्कार प्रदान गर्ने गरि कार्ययोजना बनाएको समितिका सचिव थारुले जनाए ।

गेरुवा गाँउपालिकाले स्मार्ट कृषि गाँउलाई गत वर्ष १० लाख प्रदान गरेको थियो । हरेक वर्ष पालिकाले कृषि गाँउलाई सहयोग गरिरहेको छ । स्मार्ट कृषि गाँउ तिनघरुवाका हरेक घरमा बाख्रा भेटिन्छन् । यतिखेर बाख्रा स्मार्ट गाँउका किसानको मुख्य आम्दानीको स्रोत बनेको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका प्रमुख विनोद घिमिरेले स्मार्ट गाँउका किसानहरुले उत्पादन गरेको खसि बाख्रा बिक्रि गरेको आधारमा थप अनुदान दिन सकिने बताए ।

सरकारले उत्पादनको आधारमा अनुदान दिने भएकाले स्मार्ट कृषि गाँउका किसानले पनि यो सुविधा पाउने प्रमुख घिमिरेले जानकारी दिए । चार वर्षसम्म संचालन हुने कार्यक्रममा गेरुवाका किसानहरुको जिवनस्तर माथि उठ्नेमा विश्वास गरिएको छ । गेरुवा गाँउपालिकालाई बाख्रा पालनको हव बनाउन पनि स्मार्ट कृषि गाँउको भुमिका महत्वपुर्ण हुने उनको भनाई छ ।

तपाइको मत