नेपाल भित्र्याउँदै गरेको अवैध सामान सशस्त्रद्वारा बरामद
- आइतबार असार ६ , २०७८
चुरेकुञ्ज, गुलरिया । शसस्त्र प्रहरी बल नेपाल नम्वर ३१ गण हेडक्वाटर बर्दिया मातहतको टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामाग्री सहित ५ जनालाई पक्राउ गरेको छ । शसस्त्र प्रहरीले उनीहरुबाट १ लाख ८८ हजार ६ सय रुपैया बराबरको सामाग्री फेला पारेको हो ।
नेपाल ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षाकर्मीहरुले हरियो तरकारी, सोलार प्यानल¸ १२ भोल्टको व्याट्री¸ साईकल¸ अटो सहित मानिस समेत पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नम्वर ३१ गण हेडक्वाटर बर्दियाका गणपति शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए । हामीले अवैध सामान ओसारपसार गर्ने अटोका चालक गुलरिया नगरपालिका वडा नम्वर १० रत्नापुर निवासी २० बर्षिय नोफिस खाँ, उत्तरप्रदेस भारतको बहराईच जिल्ला भगडीया निवासी २० बर्षिय सन्तोष कुमार, ३० बर्षिय कृष्ण राय र कवाड सामान सहित नारद बेहेनालाई पक्राउ गरेको जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको व्यवस्थापनमा तिव्रता दिईएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण¸ अबैध रुपमा सीमावर्ति क्षेत्रमा हुन सक्ने आवत जावत¸ चोरी तस्करी नियन्त्रणगर्दै सीमा सुरक्षालाई प्रभावकारी व्यवस्थापन गर्नको निमित्त बर्दियाका सीमावर्ती ईलाकामा बि.ओ.पि., फर्वाड बेशहरुले अपराधिक गतिबिधिहरु र तस्करी नियन्त्रणलाई तिव्रता दिएको प्रमुख रावतको भनाई छ ।
बरामदी सामान कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ । गस्तीले ११ थान साईकल सहित कवाड सामाग्री समेत बरामद गरेको छ ।