रोजगार गुमाएका टाँगा चालकका परिवारलाई खाद्यान्न राहत
- शनिबार असार ५ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरियादेखि भारतको मूर्तिहा सम्म टाँगा (घोँडगाडी) चलाउँदै आएका चालकका परिवारलाई खाद्यान्न उपलब्ध गराईएको छ । कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि सीमा शिल हुँदा रोजगार गुमाएका उनीहरुलाई नेपाल–भारत मैत्री संघ बर्दिया शाखाले खाद्यान्न राहत उपलब्ध गराएको हो ।

गुलरिया नगरपालिका अन्र्तगत वडा नम्वर ६ तथा ७ मा बसोबासगर्दै टाँगा चलाउँदै आएका चालकहरु लकडाउनका कारण सीमा शिल हुँदा रोजगारी गुमाउन बाध्य भएको राहत हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी निरज शर्माले बताए । हामीले संघसँग पहलगर्दै वडाका टाँगा चालकहरुलाई खाद्यान्न वितरण गरेका छौं । रोजगारी गुमाएर खाद्यान्न अभाव खेपिरहेका विपन्न परिवारलाई राहत उपलब्ध गराउन वडा लागि परेको अध्यक्ष शर्माको भनाई छ ।
नेपाल–भारत मैत्री संघ बर्दिया शाखा र वडा अध्यक्ष निरज शर्माको आतिथ्यतामा संयुक्त रुपमा खाद्यान्न वितरण गरिएको संघका अध्यक्ष धनेश यादवले बताए । हामीले टाँगा चालकका ३५ घरपरिवारलाई चामल, पिठो, नून, तेल लगायतका खाद्यान्न राहत स्वरुप उपलब्ध गराएका हौं । आगामी दिनमा थप राहतका कार्यक्रम ल्याउने अध्यक्ष यादवले प्रतिवद्धता ब्यक्त गरे ।