ठाकुरबाबाका किसानलाई अनुदानमा कृषि उपकरण
- मंगलबार असार १ , २०७८
हरिवंश पाण्डे, ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाले आफ्ना नगरबासी कृषकहरुलाई कृषि कार्यमा सहयोग पुर्याउने हेतुले ३५ प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । पालिका अन्र्तगत कृषि शाखाको आयोजनामा २६ जना किसानहरुलाई विभिन्न कृषि उपकरण उपलब्ध गराईएको छ ।
नगरपालिकाले ३५ प्रतिशत अनुदानमा १९ जना कृषकलाई प्रति कृषक एक थानका दरले १९ थान पावर टीलर र ७ जना कृषकलाई प्रति कृषक एक थानका दरले ७ थान रीपर नगर प्रमुख घन नारायण श्रेष्ठले वितरण गर्नु भयो । कृषियन्त्र वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घननारायण श्रेष्ठले यान्त्रिकरणको माध्यम बाट कृषिको उत्पादकत्व वृद्धि गर्ने तथा उत्पादन लागत घटाई कृषि व्यवसायीलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले कृषियन्त्र वितरण कार्यलाई निरन्तरता दिएका छौं ।
नगर भित्रका कृषि प्रणालीलाई आधुनिकीकरण मार्फत आर्कषणगर्दै कम लागतमा अधिकतम फाइदा लिन कृषि यन्त्रले सहयोग पुर्याउने आशा नगरपालिकाको रहेको प्रमुख श्रेष्ठको भनाई छ । ठाकुरबाबा नगरपालिकाका ९ वटै वार्डबाट प्राप्त आवेदनलाई क्याटलक विधिबाट २÷२ जनाको दरले छनोट गरि सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख ध्रुव राज बमले जानकारी दिनुभयो । नगरपालिकाको ३५ प्रतिशत अनुदान बाट हुन आउने करिब १५ लाख रुपैयाँ नगरले र थप रकम कृषकले व्यहोर्ने गरी कृषियन्त्र वितरण गरिएको हो ।

कृषि यन्त्र पाप्त गर्ने कृषक तारा अधिकारीले विगतमा समूहगत रुपमा नगरपालिका बाट कृषि यन्त्र पाएको र यन्त्रको प्रयोग बाट कृषि कार्यमा सहज भएको बताउनु भयो । यान्त्रिककरणबाट लागत घटेको उहाँको वुझाई छ । अर्का कृषक प्रमिल नेपालले समूहमा पाएको यन्त्रको उपयोग नियम बनाएर सबैले सहज र सुलभ तरिकाले प्रयोग गरेकोले यन्त्र थपिंदा आगामी दिन थप सहज हुने बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाको कृषि शाखाले यस अघि पनि सहकारीको सहकार्यमा २५ प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिसकेको छ । एक व्यक्ति एक उत्पादन अन्तरगत आलु र मसाला खेतीमा लगानी रहेको कृषि शाखा प्रमुख बमले प्रष्ट्याउनु भयो । कृषियन्त्र वितरण कार्यक्रममा नगर प्रमुख, नगर उपप्रमुख, कृषि शाखा प्रमुख कृषक पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
