fbpx

वार्ड–वार्डमा खाद्यान्न बाँड्दै बर्दिया फूड वैंक

वार्ड–वार्डमा खाद्यान्न बाँड्दै बर्दिया फूड वैंक

चुरेकुञ्ज, गुलरिया । बर्दियाको सदरमुकाम गुलरियामा स्थापना गरी संचालनमा रहेको बर्दिया फूड वैंकले वार्ड–वार्डमै पुगेर विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । लायन्स क्लव अफ बर्दिया र एन्टा अमेरिकाको सहयोग तथा सहकार्यमा हिन्दु स्वयंसेवक संघ नेपाल बर्दियाले स्थापना गरेको फूड वैंकमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले सहयोग उपलब्ध गराउँदै आएका छन् ।

गुलरिया नगरपालिका वडा नम्वर ६ को पहलमा वडाका ३० भन्दा बढी विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराईएको वडा अध्यक्ष निरज शर्माले बताए । वैंकको सहायताले कोभिड महामारीबाट वेरोजगार बनेका मजदुर बर्गको चुलो वलेको छ । वैंकलाई सवैले सहयोग गर्न शर्माले आग्रह गरेका छन् । फूड वैंक मार्फत नगरका विभिन्न वडाहरुमा खाद्यान्न राहत वितरण गर्ने कार्य जारी छ ।

गुलरिया नगरपालिका भित्रका १, २, ३, ६, ७ नं वडाहरुमा हामीले खाद्यान्न वितरण गरी सकेका छौं । बाँकी वडाहरुमा पनि खाद्यान्न वितरण गर्ने हाम्रो तयारी छ हिन्दु स्वयंसेवक संघ नेपालगंज संम्भाग प्रचारक लक्ष्मण यादवले भने । गुलरिया बाहेक बाँसगढी नगरपालिकामा पनि हामीले खाद्यान्न वितरण गरेका छौं । हामीसँग संकलन भएको सहयोगको आधारमा जिल्लाका विभिन्न पालिकाहरुमा सहयोग वितरण गर्ने कार्यक्रम छ ।

फूड वैंक मार्फत हालसम्म ३ सय १० परिवारलाई खाद्यान्न वितरण गरिएको यादवले प्रष्ट्याए । हामीलाई अहिले सम्म ३ लाख १५ हजार रुपैया नगद सहयोग प्राप्त भएको छ । त्यस्तै १५ क्विन्टल चामल सहयोग प्राप्त गरी वितरण गरेका हौं । सहयोग आउने क्रम जारी छ । सहयोगको मात्रा बढे वितरणको मात्रा पनि बढाउँछौं । फूड वैंकले प्रति परिवार २० किलोग्राम चामल, २ केजी दाल, १ केजी नून, ५ केजी पिठो, १ पोका तेल, ५ गोटा मास्क र २ गोटा सावुन उपलब्ध गराएको छ ।

तपाइको मत