fbpx

गेरुवा गाउँपालिका बन्यो बाख्रा स्मार्टगाउँ

गेरुवा गाउँपालिका बन्यो बाख्रा स्मार्टगाउँ

मीन अधिकारी, गेरुवा । तिनघरुवा बाख्रा स्मार्ट गाउँको आयोजनामा प्रविधि विस्तार सम्बन्धी सचेतना कार्यक्रम गेरुवा गाउँपालिका वडा नं. ४ तिनघरुवामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि बलबहादुर चलाउनेले प्रविधिको विकाससँगै जनजीवन सहज हुँदै गइरहेको बताउनु भयो । उहाँले स्थानीय सरकार सधै किसानको पक्षमा काम गर्दै आईरहेको र आगामी दिनमा पनि किसानको पक्षमानै उभिने उल्लेख गर्नुभयो ।

बाख्रा पालक किसान ।

‘जनताको सरकार भनेको स्थानीय सरकार भएकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बढी प्राथमिकतामा राखेका छौँ ।’ उहाँले भन्नुभयो– ‘आगामी बर्षको कार्यक्रममा पनि के कस्ता बिषयबस्तु समेट्नु पर्ने हो त्यसबारे सल्लाह सुझाव दिनुहोला ।’

कार्यक्रममा बोल्दै तिनघरुवा बाख्रा स्मार्ट गाउँका अध्यक्ष कालुराम थारुले पहिलो बर्षमा खोर निर्माण, बाख्रा बोका वितरण, सिँचाईको लागि बोडिङ्ग जडान तथा निर्माण, डालेघाँस वितरण लगायतको कार्य गरिएको बताउँदै स्मार्ट कृषि गाउँमा अहिले हरेकको घरमा नयाँ सुरिक्षत खोर निर्माण भएको जानकारी दिनुभयो ।

उहाँले पहिले एक दुई वटा मात्र बाख्रा पाल्नेहरु स्मार्ट गाउँ संचालनमा आएपछि खोरमा ७ देखि ११ वटा सम्म बाख्राहरु पालन गरिरहेको र सो परिवारको आयआर्जनमा बृद्धि भएको बताउनुभयो ।

तिनघरुवा बाख्रा स्मार्ट गाउँका सदस्य दिलबहादुर बिसीले चार बर्षसम्म संचालन हुने कार्यक्रममा यहाँका किसानहरुको जिवनस्तरमा केही सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गेरुवा गाउँपालिका बाख्रा पालनको हव बनाउन पनि स्मार्ट कृषि गाउँको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

तिनघरुवा बाख्रा स्मार्ट गाउँकी सदस्य मञ्जु शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गेरुवा ४ का वडा सदस्य मायाराम खनाल, ठाकुरबाबा नगरपालिकाका पशु स्वास्थ्य अधिकृत अमरबहादुर शाही, राजापुर नगरपालिकाका पशु स्वास्थ्य प्रमुख पूर्णबहादुर खत्री, तिनघरुवा बाख्रा स्मार्ट गाउँका सचिव यज्ञराज थारु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा किसानलाई बाख्रालाई लाग्ने विभिन्न रोगहरुबाट बच्ने औषधी वितरण समेत गरिएको थियो । तिनघरुवा बाख्रा स्मार्ट गाउँ अन्र्तरगत ५४ घरपरिवारले सुरक्षित खोर निर्माण गरि बाख्रा पालन गरिरहेको स्थानीय धनु थारुले जानकारी दिनुभयो ।

तपाइको मत