गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएनन्
- बिहिबार जेठ २७ , २०७८
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् । बिहीबार गण्डकी प्रदेशसभामा भएको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।
प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका हुन् । ६० सदस्यीय प्रदेशसभामा ५८ जनाको उपस्थिति थियो । जसमध्ये ५७ जनाले मतदान गरेका हुन् । योसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाका ६० मध्ये ३१ सदस्यको साथ पाउनुपर्ने थियो। तर, उनलाई २७ जना सांसदले मात्र समर्थन गरेका हुन् ।
वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका सुब्बाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मंगलबार प्रदेशसभामा पत्र दिएका थिए ।
गुरुङ प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । माओवादी चैत २५ मा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा गरेका थिए । त्यसपछि २ वा २ भन्दा बढी दलको सरकार गठनका लागि भएको आह्वानमा कसैले बहुमत पुरÞ्याउन नसकेपछि संविधानको धारा १६७ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि अर्को सरकार बन्न पनि कठिन छ । प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनमोर्चाका ३ र जसपाका २ सांसद रहेका छन् । कांग्रेस नेतृत्वमा सरकार बनाउन पनि जनमोर्चाकै साथ चाहिन्छ। तर, जनमोर्चाका सांसद कृष्ण थापा कांग्रेसलाई साथ नदिने पक्षमा छन्। कांग्रेसले पनि सरकार बनाउन नसके संविधानको धारा १६८ को ७ अनुसार प्रदेश प्रमुखले प्रदेशसभा भंग गरी ६ महिनाभित्र हुने गरी निर्वाचन घोषणा गर्नुपर्छ। कांग्रेस र जसपा सरकार बनाउन नसके निर्वाचनमै जाने मनस्थितिमा छन्।