ब्यवसायीलाई प्याकेजमै राहत दिईनुपर्छ : देवेन्द्र पाण्डे (मंगल)
- मंगलबार जेठ २५ , २०७८
दोस्रो चरणको कोरोना भाईरस (कोभिड–१९) संक्रमण ब्यापक भएपछि गरिएको निषेधाज्ञाले देशै भरका उद्योग ब्यवसायहरु धराशायी बनेका छन् । अत्यावस्यक सेवा बाहेकका उद्योगी, ब्यवसायी चरम मर्कामा छन् । उनीहरुका उत्पादनहरु बजार सम्म पुग्न पाएका छैनन् । कतिपय उत्पादनको म्याद सकिएको अवस्था छ । उद्योगधन्दा धराशायी बनेको अवस्था छ । यसमा राज्यले कुनैपनि तरिकाबाट उद्योगी, ब्यवसायीको हितमा निति बनाएर राहतका प्याकेज ल्याउनु पर्ने आवस्यक छ । अन्यथा ब्यवसायीहरुको मनोवल गिर्न सक्ने सम्भावना बढेर गएको छ ।
ब्यवसायीले सम्पुर्ण स्रोत साधन लगानी गरी आफ्नो दैनिक जिवनयापनको माध्यम बनेको व्यवसाय कोरोना कहरले ठप्प छ । व्यवसायीलाई एकातिर आफ्नै जीवनयापनको समस्या छ । अर्कोतिर ऋण लिएर ब्यवसाय गरेका ब्यवसायीलाई बैकको किस्ता, व्याज, घर भाडा र व्यापारिक प्रतिष्ठानहरुलाई बुझाउनु पर्ने भुक्तानी तिर्न पाएका छैनन् । ब्यवसायीलाई थप मानसिक समस्या थपिएको छ । राज्यले बलियो निति निर्माण गरी माहामारी अवधिको ब्याज, कर लगायतका दायित्वहरुमा छुट गराउनु पर्ने ब्यवसायीको माग पनि छ । अन्यथा ब्यवसायीहरु डुब्ने र पलायन हुन सक्ने समस्या आउन सक्ने खतरा बढ्ने देखिन्छ । प्रस्तुत छ यसै सन्दर्भमा उद्योग बाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे (मंगल) सँग पत्रकार यादव आचार्यले गरेको कुराकानीको अंश ।
कोरोना महामारीका बेला उद्योगी ब्यवसायी खेप्नु परेको समस्या बताईदिनुस् न ?
निजी क्षेत्र मार्फत सेवा मुलक व्यवसायको रुपमा उद्योगी व्यवसायीहरुले देश समाजको आर्थिक गतिविधि चलायमान गराई देशमा आर्थिक संकलन गराउन प्रमुख भूमिका रहन्छ । यसको संगठानात्मक रुपमा म बर्दिया जिल्ला सदरमुकामको गुलरिया उद्योग वाणिज्य संघको नेतृत्व गरिरहेको छु । कोरोना महामारीले विश्वनै आक्रान्त पारीरहेको अवस्थामा बर्दिया जिल्ला पनि अछुतो छैन । उद्योग धन्दा कलकारखाना, ब्यवसाय सबै ठप्प रहेको अवस्था छ । ब्यवसायीको दायित्व बढ्दै छ । आम्दानी ओरालो लागेको छ । यस्तो अवस्थामा ब्यवसायीको हक हित र मनोभावना उच्च राख्न संघ कटिबद्ध छ ।
लकडाउनका कारण धराशायी बनेका उद्योग ब्यवसायलाई उकास्न सरकारले केगर्नु पर्छ जस्तो लाग्छ ?
यस महामारीमा आफ्नो सम्पुर्ण स्रोत साधन लगानी गरी आफ्नो दैनिक जिवनयापनको माध्यम बनेको व्यवसाय कोरोना कहरले ठप्प छ । व्यवसायीलाई एकातिर आफ्नै जीवनयापनको समस्या छ । अर्कोतिर ऋण लिएर ब्यवसाय गरेका ब्यवसायीलाई बैकको किस्ता, व्याज, घर भाडा र व्यापारिक प्रतिष्ठानहरुलाई बुझाउनु पर्ने भुक्तानी तिर्न पाएका छैनन् । जसले गर्दा पनि ब्यवसायीलाई थप मानसिक समस्याको रुपमा वल्झिएको छ । राज्यले बलियो निति निर्माण गरी माहामारी अवधिको ब्याज, कर लगायतका दायित्वहरुमा छुट गराउनु पर्छ । अन्यथा ब्यवसायीहरु डुब्ने र पलायन हुनसक्ने समस्या आउन सक्छ । मैले केही दिन अघि उद्योग वाणिज्य महासंघ काठमांडौ र लुम्विनी प्रदेस महासंघसँगको भर्चुअल छलफलका क्रममा ब्यवसायीको घरभाडा, कर लगायतका विषयमा छुट तथा सहुलियतका लागि दबाब दिएको छु । र पटक पटक फोन मार्फत पनि जानकारी गराएको छु । आशा छ महासंघले ब्यवसायीको हितमा पक्कै पनि काम गर्छ ।
कोरोना महामारीको चरम संक्रमण फैलिई अक्सिजन अभाव भैरहेका बेला उद्योग बाणिज्य संघ लगायत अन्य सहयोगी संस्थासँगको सहकार्यमा अक्सिजन वैंक संचालनमा ल्याउनु भयो यसमा ब्यवसायीका तर्फबाट कस्तो सहयोग रह्यो ?
निजीक्षेत्रको सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो जिम्मेवार बोधगरी व्यवसायीका उद्योगहरुमा व्यवसायीक प्रयोजनका लागि राखिएका खाली अक्सिजन सिलिण्डर संकलन गरी जिल्लामा क्रियासिल अन्य व्यवसायीक संघ संस्थाहरुको सहकार्यमा अक्सिजन बैकको स्थपना गरी दैनिक रुपमा सेवा प्रवाह गरिरहेकाछौ । स्वतःस्फुर्तरुपमा जिल्लाका व्यवसायीहरुबाट उत्साहजनक सहयोग प्राप्त भएकको छ । हामीले अभावका वेलामा पनि अक्सिजन अभाव हुन दिएनौं । सधैं अक्सिजनको ब्याकअप राखेर पालिकाहरुका अस्थायी कोभिड अस्पताल लगायत बर्दिया अस्पताललाई अक्सिजन उपलब्ध गरायौं । यसले गर्दा अक्सिजन आवस्यकता भएका कोभिड संक्रमित बर्दियावासी लगायत ब्यवसायीहरुलाई उपचारमा सहज भएको छ । आम जनसमुदाय तथा सहयोगी सम्पूर्ण व्यवसायी प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
लकडाउनका बेला ब्यवसायीलाई ढुवानीको समस्या कसरी समाधान गर्नु भयो ?
लकडाउनको बेला सम्पूर्ण क्षेत्र प्रभावभित नै भए । व्यवसायीहरुका पनि धेरै समस्या थिए । अत्यावस्यक सेवाका वस्तु बाहेकका ब्यापार ब्यवसाय ठप्प भए । सामान ढुवानीका लागि अन्य समय भन्दा धेरै कठिनाई पक्कै भयो । तर संघको पहल एवं स्थानिय प्रशासनको सहकार्य तथा सहयोगमा त्यस्तो समस्या सहजै समाधान गरायौं । कोभिड महामारीका बेला सवै क्षेत्रबाट ब्यवसायीलाई सहयोग भएको अनुभुति हामीले गरेका छौं ।
बर्दियाको उद्योग ब्यवसाय बृद्धि गर्न केगर्नु पर्छ जस्तो लाग्छ ?
बर्दिया जिल्ला विविधता भरिएकाले पनि यहाँ धेरै सम्भावना रहेको मेरो बुझाई छ । गुलरिया जिल्लाकै पुरानो नगरपालिका तथा सदरमुकाम भएर पनि उद्योग धन्दा, कलकारखाना संचालनमा आउन नसक्नु यहाँको दुर्भाग्य हो । यहाँ आधिकारीक रुपमा नेपाल–भारतको सिमा नाका संचालन गरी उद्योग धन्दा भित्रायाउन सकियो भने जिल्लामा तथा सदरमुकामको आर्थिक परिवर्तनको ढोका खुल्ने निश्चित छ । सानो तिनो किनमेल छिमेकी भारतबाट गर्ने परिपाटि छ । अन्यत्रबाट अबैध रुपमा ब्यसायिक सरसामानहरु ओसार पसार हुने भएकाले पनि राज्यसँग द्वन्दात्मक स्थिती श्रृजना हुने गर्छ । मूर्तिहा नाका संचालनमा आएपछि अवैंध रुपमा हुने कारोवारहरु नियन्त्रण हुने हाम्रो विस्वास छ । जसका लागि पनि सबैक्षेत्रबाट सीमा नाका संचालनको लागि पहल गर्नु आवस्यक छ । नाका खुल्ने वित्तिकै यहाँको व्यवसाय तथा जिल्लाको उन्नती हुनेमा कुनै शंका छैन । उद्योग धन्दाको सुरक्षा, बजार व्यवस्थापन र करमा सहुयितले व्यवसायीक प्रतिष्ठाले आकर्षण गर्नु सवैको दायित्व हो र त्यसलाई स्थापित गरियो भने समग्र सम्बृद्धिको ढोका खुल्छ ।
बर्दियाका ब्यवसायीका समस्या के देख्नु भएको छ ?
बैधानिक रुपमा व्यवसायीहरुले गरिरहेको व्यवसायमा अनावश्यक कानुनी प्रावधानका कारण उत्पन्न झमेलाले ब्यवसायीलाई परेशानी हुनेगर्छ । स्थानिय प्रशासनको आवश्यक सहयोगमा समस्याहरु न्यूनीकरण गरिएको छ । दोहोरो अर्थलाग्ने ऐन, नियम, कानुन र अन्तर कार्यालय बिचको समन्वय अभावले व्यवसायीले बैधानिक काम गर्दागर्दै पनि अपमान हुनपर्ने स्थितिलाई न्युनिकरण गर्नुपर्छ । सम्बन्धीत सवै निकायहरुसंग आवश्यक सहयोग लिने र व्यवसायीक हक हितको लागी सहयोग दिलाउने अवधारणा सहित हामी अघि बढेका छौं । जसका लागी त्यस्तै खालको भुमिका गरेका छौ । सहयोग भएको पनि छ ।
प्रहरी प्रशासनबाट ब्यवसायी प्रति कस्तो भूमिका पाउनु भएको छ ?
वर्तमान महामारीमा आफ्नो सामाजिक दायित्व पुरागरी जिवन जोखिममा राखी अग्रपंक्तीमा खटिएर प्रहरी प्रशासने समुदायमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सेवा प्रवाह दिईरहनु भएको छ । व्यवसायीहरु प्रति सहयोगको भावना रहेको मैले पाएको छु । जसका लागि प्रहरी प्रशासनलाई हार्दिक धन्यवाद पनि दिन चाहान्छु । साथै विचमा धेरै व्यवसायीहरु पनि संक्रमित हुनु भएकोछ । दुर्भाग्य स्वरुप केही ब्यवसायीले मृत्युवरण समेत गर्नुप¥यो । संक्रमितको शिघ्रास्वाथ्यलाभको कामना गर्दै दिवंगत पेशाकर्मीहरु प्रति उद्योग वाणिज्य संघ बर्दिया गुलरियाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
जिल्लाका ब्यवसायीलाई केही सुझाव छ ?
व्यवसायी तथा व्यापारीको हक हितको निमित्त तमाम व्यवसायीले जुन बोकिएको जिम्मेवारी दिनु भएको छ । म ब्यवसायीलाई कत्ति पनि विचलित नहुँन आग्रह गर्दछ । कोभिड महामारीको अन्त्यसँगै सबैको ब्यवसाय फस्टाउने आशा लिएको छु । सवैको भरोसा कायम रहँदै सवैको साथ सहयोगले वर्तमान समयको व्याज, किस्ता विमा, घरभाडा लगायतका छुटका कुरामा सम्बन्धीत सवैसंग सहयोग लिई महासंघ संगको सहकार्यमा छुटको पहल गर्छु । साथै स्थानिय सरकारसंग समेत आवश्यक परामर्श भैरहेको छ । हुन सक्ने जतिको सहुलियत तथा सेवा प्रवाह गराउन तर्फ लाग्ने प्रतिबद्धता गर्दछु ।
अन्त्यमा केही भन्नुहुन्छ ?
ब्यवसायी लगायत स्थानिय नागरिकहरुको ब्यवसायी प्रति आवश्यक साथ र सहयोगको लागी हार्दिक अनुरोध गर्दछु । कोरोना महामारीको अवस्था भएकाले ब्यवसायीहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालनागर्दै अत्यावस्यस्यक सेवाहरु प्रवाह गर्नुहुन विनम्र अनुरोध गर्दछु । कोरोनाबाट आफू, परिवार र समाजलाई जोगाउने दायित्व हामी सबैको हो । अन्त्यमा तपाईलाई धन्यवाद दिन चाहान्छु । महामारीका बेला समग्र ब्यवसायीको चिन्तनगर्दै उद्योग बाणिज्यसंगको तर्फबाट मेरा कुराहरु राख्ने अवसर दिनुभयो त्यसका लागि हृदयदेखि नै हार्दिक धन्यवाद टक्राउँछु । धन्यवाद ।