आफन्तको सहयोगमा जनप्रतिनिधिले बाँडे खाद्यान्न
- मंगलबार जेठ २५ , २०७८
चुरेकुञ्ज, बर्दिया । गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा सदस्य युवराज श्रेष्ठले आफन्तको सहयोगमा वडाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेका छन् । क्यानाडा वसोवासगर्दै आएका वहिनी जुवाई लगायत साथीभाईहरुको सहयोग मार्फत खाद्यान्न संकलन गरी मजदुरी गरेर खाने विपन्न परिवारलाई राशन उपलब्ध गराएका हुन् ।

विश्वब्यापी कोभिडले तहस नहस पारीरहेका बेला लामो समयदेखि लकडाउन भै जिविकोपार्जन गर्न नसकेका दैनिक मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न उपलब्ध गराएको वडा सदस्य युवराज श्रेष्ठले बताए । साथीभाई लगायत परिवारले पठाएको २ लाख १८ हजार रुपैयाबाट प्रति परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, सोयाविन, नून लगायतका खाद्य पदार्थ उपलब्ध गराएको छु । हाल सम्म मतंगा, वालापुर स्थित हरियाली टोल, रामबाघ लगायतका क्षेत्रका ९२ घरपरिवारलाई श्रेष्ठले राहत उपलब्ध गराएका छन् ।

राज्यको आँखा नपरेको क्षेत्रमा एकल प्रयासमा आफन्त लगायत साथीभाईको सहकार्यमा जनप्रतिनिधिले कोभिडका बेला दुःखमा परेका मजदुरलाई खाद्यान्न राहत उपलब्ध गराएर धर्म गरेको गुलरिया नगरपालिका वडा नम्वर ५ रामबाघकी राधिका परियारले बताईन् । राहतले मजदुर बर्गहरु खुशी भएका छन् । आवस्यक परे थप राहत उपलब्ध गराईने वडा सदस्य श्रेष्ठको भनाई छ ।
