भगवानसँग प्रार्थना छ महामारीबाट नर्स, डाक्टरलाई बचाइदेउ
- शनिबार जेठ १५ , २०७८
लक्ष्मण ओली, रुकुम पश्चिम । केही वर्ष पहिले मलाई एकजनाले एउटा पुस्तक दिनुभयो सेतो लुगा भित्र कालो मन । मैंले अचम्म मान्दै के बुक हो ? भनी तत्काल प्रस्न गरें । सर मेरो पीडा र भोगाई हो । तपाईंको व्यक्तिगत पीडा र भोगाई हामीले किन पढ्नु ? हेर्दा दयनिय अवस्थामा देखिने ती व्यक्ति कुनै ठूलो विपत्तिबाट निस्केको जस्तो देखिन्थे नै । पुस्तक पढ्दै जाँदा रैछ की, उहाँको आमाको उपचारको क्रममा मृत्यु भएको कारण यो पुस्तकको सृजना गरिएको ।
उहालाई लागेछ नर्स र डाक्टर ले मेरो आमालाई बचाइ दिएनन् । चाहेको भए बचाउन सक्थे । लापरबाही गरे र मेरो आमा मरीन । त्यसैले नर्स र डाक्टर भनेका दुस्मन हुन । मैले पढेका पुस्तक मध्ये मन नपरेको पुस्तक थियो त्यो । कतिपय समाचार यस्ता पनि आउँछन् । जहाँ चिकित्सकले लापरबाही गरे । अस्पताल घेराउ भयो । डाक्टर कुटिए । नर्स कुटिए । तर मलाई के लाग्छ भने उपचारको क्रममा जति मान्छेको मृत्यु हुन्छ ती सबै नर्स, डाक्टरको लापरबाहीले मृत्यु भएको होइन । सबै बिरामीलाई उपचार गरेर बचाउन सकिने भए सायद यहाँ कोही पनि मर्नु पर्थेन होला, कम्तीमा तिनै नर्स, डाक्टरका परिवारका मान्छे कोही पनि मर्थेनन् । अझैं ती नर्स, डाक्टरहरु त झन मर्ने कुरै भएन ।
परीक्षा मा छोरो पास भएपछि मेरो छोरो मेहनती छ, मैले खुब लगानी गरेको छु, मेरो छोरो केही गर्छ भन्ने । फेल भयो मास्टर त त्यस्तो छ त्यसले पढाएको छोरो कस्तो होला । यी मास्टरले मेरो छोरो खत्तम पारे भन्ने । यो हाम्रो समाज को प्रतिविम्ब हो । युद्धमा होमिएको सिपाही, लडिरहेको सिपाहीको पछाडि अरु २÷३ जना सिपाही साथी सपोर्ट रूपमा हुन्छन् । उसको गोली सकियो भने गोली पास गर्न, हतियार बिग्रियो भने फेर्न, उसलाई भोक प्यास लाग्यो चिउरा पानी सप्लाई गर्न, घाइते भयो भने उद्धार गर्न, औषधी गर्न, पछाडि साथी खडा हुन्छ । यदि उ मर्यो भने उसको ठाउँबाट लड्न अर्को साथी तयार हुन्छ ।
यी सेता बस्त्रधारि नर्स, डाक्टर भनेका त्यही लडाइँका सिपाही हुन अहिले । कोरोना सँग विश्वयुद्धमा होमिएका छन् । तर यी बेसाहारा छन् । न यिनलाई कोही प्यास लाग्दा पानी दिन्छ । न भोक लाग्दा चिउरा । गोली सकिँदा, हतियार बिग्रँदा सप्लाई गर्ने कोही छैन । न घाइते हुँदा मलम लगाइदिने कोही छ । उनीहरूलाई थप भत्ता त चाहिँदा पनि चाहिन्न । बिदा चाहिने त झन कुरै भएन । बीमा गर्न उहाँहरू राजी हुनुहुन्न । अरु सुविधा खानलाई अनुगमनमा गएको होर ? अफिसको बजेट नर्स, डाक्टरलाई चुइँक्क पनि जानकारी दिन हुन्न ।
शनिवार छुट्टी हुने त स्कूल पढ्दा पो हो । हस्पिटलमा सातै दिन चौबिसै घण्टा तैनाथ हुन पर्छ । घुम्न जाने मन मारिसके होलान् । गेट टुगेदर त बिर्सिसके । निजी जीवन त्यागिसके । अब त्याग्न बाँकी प्राण मात्र छ । देशको लागि । जनताको सेवाको लागि । सुन्यौं, एउटा मास्क समेत किनेर लगाउन पर्छ । उसको पछाडि को छ भनौं ? छ त कोरोना । दुई खाले कोरोना । एउटा कोरोना बाट बच्न भ्याक्सिन लगाए, पिपिई लगाउँछन्, मास्क सेनिटाइजर लगाउँछन् । अर्को खाले कोरोना बाट बच्ने अहिले सम्म न कुनै भ्याक्सिन छ न कुनै पीपिई । मानवरूपी दानवहरु । जो सधैं नर्स, डाक्टरलाई आफ्नो दुस्मन सम्झिन्छन् । उनैले मान्छे मारेको ठान्छन् । उनको पद र पैसाले, मरेको मान्छे पनि बचाइदिन पर्ने जस्तो गर्छन् ।
जब डाक्टरले मरेको मान्छे बचाउन नसकिने कुरा गर्छन् अनि डाक्टरलाई झम्टीन्छन्, कुट्छन, पिट्छन् । लखेटी लखेटी मार्न खोज्छन् । यही हो हाम्रो महानता । हाम्रो गौरव । हाम्रो परिचय । हामी नर्स, डाक्टरलाई कुटेर आउँदा गर्व गर्छौं । कसैलाई पनि थाहा छैन झैँ गर्छन् की नर्स, डाक्टर लाई पनि भोक लाग्छ । थकाइ लाग्छ । प्यास लाग्छ । निद्रा लाग्छ । अझैं भनौँ बाँच्न मन लाग्छ । तर यो थाहा छ मेरो बिरामीलाई स्लाइन पानी यिनैले चढाउँछन्, बाँचोस् भनेर । आफैं मरेर अरुलाई बचाउँछ कोही भने ती नर्स, डाक्टर नै हुन् । तर त्यो कोही बुझ्दैन । बुझ्न पनि चाहन्न । यही कोरोना बिरामीको उपचारमा खटिने कति स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको छन् ।
घरमा बुढा बा आमा, सानो बच्चा छोडेर दिनरात हाम्रै बिरामी आफन्तको हेरचाह गर्छन्, हामी सोच्छौं की उसको ड्युटी हो । तलब खाएका छन् । जबकि हामी कोरोना वार्ड सम्म नजिक जान पनि मृत्यु लोकको गेटमा पुगेँ जस्तो गर्छौँ । जहाँ उनीहरू सातै दिन चौबिसै घन्टा घुमिरहेका छन् । हाम्रा आफन्त को कसलाई के कुन अफ्ठेरो छ के कुन औषधी दिनु छ । अनि फेरि घर जान्छन् बुढा भएका बा आमालाई तातो पानी तताएर दिन्छन्, बच्चालाई दूध चुसाउछन् । यो जोखिम र बाध्यता हामी देख्दैनौं । हामी देख्छौं मेरो बिरामीलाई औषधी खुवाउन ढिला भयो । हामी यो देख्दैनौं एक जना नर्सले ४०÷५० जना बिरामीको हेरचाह गर्नुपर्छ ।
उनीहरूको उपचारले को कति बाँचेर गए हामीले उनीहरूलाई कहिलै धन्यबाद सम्म भनेका छौं ? कहिलै सम्मान गरेका छौं ? फूलमाला लगाइदिएका छौं ? मृत्युको मुखबाट झिकेर घर पठाउने यी भगवानलाई कहिलै फलफूल लिएर भेट्न गएका छौं ? अहँ छैन । तर हामीले तिनीहरूको किचकिच याद गरेका छौं, तिनीहरू नबोली बाटो काटेको याद छ, मेरो बिरामी छट्पटाएको बेला डाक्टर कुद्दै नआएको याद गर्छौ । खुब सानले भन्छौँ छोरी बिग्रे नर्स भनेर ।
हाम्रो यो दरिद्र मानसिकता यो लाखौं को ज्यानलिने गरेर आएको महामारीको बेलामा समेत परिवर्तन हुन सकेन । आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना बिरामीको उपचारमा खटिने सच्चा राष्ट्र सेवक स्वास्थ्यकर्मी हाम्रा साक्षात् भगवान् हुन् । आफन्त कोरोना पोजेटिभ भयो भन्दा हामी चार कोष टाढा सर्छौं तर ती नर्स, डाक्टरले आफ्ना बच्चा जसरी काखमा लिन्छन् र आमाले स्याहारे झैँ स्याहारेर बचाउँछन् । ती महा मानव यो बेला पूज्य नभएका कहिले हुने हुन् ?
ए कलियुग एउटा मात्र सद्बुद्धि दिनु छ भने हामीलाई नर्स, डाक्टर प्रति हेर्ने दृष्टिकोण सही बनाइदे । त्यति बुद्धी जोगाइदे । हामीलाई जोगाउने काम त उहाँहरू गरिहाल्नु हुन्छ । उहाँ, तपाईं पछिको भगवाननै हो । भगवान सँग मेरो प्रार्थना छ यो महामारीबाट नर्स, डाक्टरलाई बचाइदे । हामीलाई त उहाँहरू बचाईहाल्नु हुन्छ नि ।
लक्ष्मण ओली प्रहरी सेवामा कार्यरत कर्मचारी हुन् । उनी हाल ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पामा प्रहरी निरिक्षक छन् ।