कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई खाद्यान्न
- बुधबार जेठ ५ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकामा न्यू भेरियन्टसहितको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ । जिवनयापनका लागि अभिभावक प्रति आश्रित बालबालिकाहरुलाई चामल, दाल, नुन, चना लगायतका मापदण्ड अनुसारको खाद्यान्न घरघरमै पुगी हस्तान्तरण गरिएको छ ।
जिल्ला विपद ब्यवस्थापन समिति बर्दियाको सहकार्य, बाँके युनेस्को क्लवको सहयोगमा गुलरिया नगरपालिकाले नगरका विभिन्न वडामा रहेका कोभिडले अभिभावक गुमाएका अतिविपन्न तथा जोखिममा रहेका बालबालिकाहरुलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरु हस्तान्तरण गरेको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष निरज शर्माले बताए । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गुलरिया नगरपालिकाकी उपप्रमुख सुसिला गिरी ५ जना लक्षित बालवालिकाको घरमै पुगी खाद्यान्न राहत उपलब्ध गराएका हुन् ।
बालबालिकालाई ५० किलोग्राम चामल, ७ केजी दाल, ७ केजी चना, नून, तेल, चिउरा, सावुन लगायतका सामाग्री पहिलो चरणमा वडा नम्वर ६ मा वितरण भएको छ । वडा अध्यक्ष शर्माले भने नगरमा कोभिडले अभिभावक गुमाई जोखिममा रहेका बालबालिका अरुपनि छन् । उनीहरुलाई पनि खाद्यान्न राहत वितरण गर्छौ । लकडाउनको अवस्था थपिँदै गए दोस्रो चरणमा नगरमा रहेका अतिविपन्न परिवारहरुलाई पनि खाद्यान्न राहत वितरण गर्ने तयारी भैरहेको शर्माले जानकारी दिए ।