fbpx

जैविक विविधता भित्रको अनुपम सुन्दरता

जैविक विविधता भित्रको अनुपम सुन्दरता

हिक्मत आचार्य, बर्दिया । एउटा सुन्दर गाँउ छ यहाँ । यो गाउँ कथाहरूमा वर्णन गरेजस्तै सुन्दर छ । गाउँ नजिकै खोला छ । खोला पारी घना वन । एक ताका त्यो वन रित्तिनै आँटेको थियो तर केही स्वदेशी तथा विदेशीको सहयोगमा विभिन्न योजनाहरू बने जसले गर्दा वन पौराणिक कथाहरूमा बखान गरेजस्तै सफा, स्वच्छ र घना भयो ।

जहाँ बाघले रत्यौली खेलिरहेको हुन्छ। चित्तल डेउडा भाकामा सुर मिलाइरहेका हुन्छन् । सखिया नाच नाँच्दै गरेको हात्ती कहिले डेउडा गीतमा ब्रेक डान्स गर्दै हुन्छ भने कहिले बाघले खेलेको रत्यौली नबुझी आफ्नै भाषामा अर्थ लगाइरहेको हुन्छ ।

यि सबैभन्दा फरक छ गैँडा । यसलाई कसैको मतलब नै छैन । आफूलाई जे गर्दा शान्ति मिल्छ त्यही गरिरहन्छ । अरूसँग बस्न खासै रुचाउँदैन । त्यसैले एक्लै बसिरहेको हुन्छ । नदी किनारमा मानिसको बस्ती निकै बाक्लो थियो । हात्ती लगाएतका जनावरले खासै क्षति गरेका हुँदैनथे । पछिल्लो समय हात्तीको आतंक बढ्दै गएपछि मानिसको बस्ती पातलिँदै गयो । मैले यो गाउँको कथा लेखिरहँदा घरहरू निकै घटेका छन् । थुप्रै खेतहरू बाँझो छोडिएका छन् । ज्यान दाउमा राखेर बँचाएको अन्नले वर्षदिन नै धान्न नसकेपछि बिचरा के गरून् । यसको प्रभावले थोर बहुत असर गरेपनि मान्छेहरू प्रकृति र प्राकृतिक स्रोतप्रति सकारात्मक नै छन् ।

कसैले सोधे सोझै बाघको बखान सुनाउँछन् । नदी छेउमा लागेर उ अघी भर्खरै यहीँ पानी पिउँन आएको थियो भन्दै तलाउ भएको ठाउँतिर देखाउँछन् । नजिकै हात्तीसारमा बाँधिएका हात्तीहरू छन् । जङ्गली हात्तीको अनुपस्थितिमा पाहुनाहरूले साङ्लोमा बाँधिएका घरेलु हात्ती हेरेर चित्त बुझाउँछन् । यहाँहरूले म के भन्न खोज्दैछु भन्नेबारे केही अनुमान लगाउँनु भयो कि ? सायद ठाउँको प्रसंसा गरिरहेको छ भन्ने लाग्ला । नआत्तिनुस् म एकमुष्ट रूपमा कारण सहित प्रष्ट बनाउँनेछु । यदि हजुरहरू पहिलो पटक यस गाउँमा आउँनु भयो भने बिल्कुलै मेरै शेैली अप्नाउँनु हुनेछ । यो गाउँले पनि धेरै मर्म बोकेको छ । बाहिरबाट हेर्दा लाग्दैन कि यसभित्र अनेकन् व्यथाहरू अडिएका छन् भनेर । यसको मर्म बुझ्न सबैभन्दा पहिला हामीले यसको भाषा सिक्नु पर्ने रहेछ ।

त्यसपछी हामी जताततै यसले पोखेका बह मात्र देख्छौँ । होस् ! यसले खासै असर गरेको छैन वा सामान्य भाषामा भन्नुपर्दा यो गाउँ बह लुकाएर मुहारमा मुस्कान ल्याउने भरपुर प्रयास गरिरहेछ त्यसैले यसका पीडाहरू यसैको जिम्मामा छाड्यौँ ।
अब म हजुरलाई त्यो नजिकैको वनमा लिएर जान्छु । अलि बिचार गरेर हिड्नुहोला धेरै कुराको डर छ यहाँ । बोल्न पाईँदैन नि । हेरिरहनु होला म साङ्केतिक भाषामा यहाँहरूलाई यस वनभित्र लुकेर बसेको एउटा कहानी देखाउँछु । हामी चाहीँ पारीसम्म देखिएको यो बाटैबाटो जानुपर्छ । यो मानिसहरू हिँडिरहेको बाटोजस्तो देखिन्छ तर त्यस्तो होइन । यो हात्ती हिँडिरहने बाटो भएकाले यस्तो देखिएको ।

बाघको डर अलि धेरै छ यहाँ त्यसैले जो कोहीले यो बाटो हुँदै सफारी गर्नेबारे सोच्न पनि सक्दैनन् । बिल्कुलै थोरै मान्छेले मात्र यहाँबाट बाघ हेर्न पाउँने सौभाग्य पाउँछन् । भाग्यसँगै डर पनि मिसिरहने भएकाले धेरैले यो बाटो जान मन गर्दैनन् । हजुरहरू नडराएर यात्रा गर्नुस् केही हुँदैन किनभने हजुरको साथमा म छु । म सुरक्षित महसुस गराउँदै वनमा लिएर जान्छु । अलि बलियो लठ्ठी लिएर हिँड्नुस् है, भित्र जे पनि हुन सक्छ । ल ! डराउँनु भको हजुर? म छु नि । ढुक्क हुनुस् मेरो साथमा हुँदा केही नि हुँदैन ।

नदि खासै गहिरो छैन । चैत–बैसाखमा यो भन्दा बढी कहिल्यै भएको छैन । ट्रयाक माथि सार्न पर्ला कि । सार्नै पर्छ भन्ने छैन। हजुरले नसार्नु भए पनि हुन् । पछि असजिलो होला कि भनेर मात्र । ओहो ! मैले कता जाँदैछौँ भन्ने कुरा भन्न नै बिर्से हकि ? बाघलाई भेट्न जाने भनेपछि अवश्य पनि हामी बर्दियाभित्र छौँ । हामी जाँदै गरेको बाटो सोझै बर्दिया राष्ट्रिय निकुञ्जभित्र जान्छ । एकछिन है, हजुर द्विविधामा पर्नु भयो कि कसो ? ढुक्क हुनुस् मैले निकुञ्जबाट हामी सबैका लागि केही रकम तिरेर अनुमति पत्र ल्याएको छु । हामी निर्धक्क भएर जङ्गल वाक गर्न सक्छौँ ।

यो गर्जिएको आवाज पहिले पनि सुन्नुभएको थियो ? सायद बिर्सनु भयो होला वा सुने पनी खासै याद गर्नु भएन होला । फिल्म हेर्दा कतै सुनेको हुनुपर्छ । जोडले सुनिएको छ नि फ्रेक्वेन्सी धेरै हुन्छ यसको आवाजमा। अनुमान लगाउनु भयो ? हो, यो बाघ नै गर्जेको हो । यस्तो आवाज कसैलाई आक्रमण गर्दा निकाल्ने गर्छ । सायद चित्तलाई झम्ट्यो कि । हामी अझै सतर्क हुनुपर्छ । हामी आवाज आएको ठाउँतिर जाँदैछौँ । होसियार हुनुहोला तर डराउनु पर्दैन ।

हामीले उसलाई नकारात्मक असर नगरे उसले हामीलाई केही गर्दैन तर सधैँ यस्तै भइरहन्छ भन्नेचाहिँ हुँदैन। बाघले आक्रमण गर्ने नगर्ने त्यो उसले कस्तो प्रस्थितिको सामना गरेको छ भन्ने कुरामा भर पर्छ । यदि उसलाई शिकारको कारणले रिस उठेको छ भने हामी धेरै सजग हुनुपर्छ। यस्तोबेला आक्रमण गर्ने डर अलिक बढी हुन्छ । गर्मी अत्ति बढ्यो हकि ? हामी यहीँ रुखमा चढ्औँ ।

केही बेरमा बाघ पानी पिउँन आउँछ । बाघ सजिलै देख्न हामी सबै यो नदीतिर निहुरिएको हाँगामा चढ्नु पर्छ । अलि बिस्तारै गर्नुस् है, लडिएला नि फेरि । तल बाघ बसिरहेको रहेछ भने बर्बादै हुन्छ नि । एउटा कुरा थाहा छ, बाघ आफू अघाइसकेपछि शिकार गर्दैन नि । मतलब हामीले जसरी भोलिका लागि बचाउँन आवश्यक ठान्दैन । त्यसैले जति खाँदा अघाउँछ त्यत्तिकैमा छाडिदिन्छ ।

आज हाम्रो दिन गजबकै रहेछ । उ त्या हेर्नु त, बाघ बिस्तारै पाइलाहरू आफ्नै सुरमा चाल्दै नदीतिर प्रवेश गर्दैछ । यसको चालबाट के थाहा हुन्छ भने यो टन्नै अघाएको छ । अहिले चाहिँ पानी पिउँन मात्र आएको हो । त्यसको दाहिने छेउमा आँखा पु¥याउँनु त । एक बथान चित्तल, सिरु चरिरहेका छन् । अघाएको भएर बाघले आक्रमण गर्ने सुर गरेको छैन ।

यहाँहरूले बाघ देख्नु भयो नि । फोटो खिच्न पाइएन हकि ? केही छैन, अर्को पटक खिचौँला । अब हामी जानुपर्छ । धेरै ढिलो बसे हाम्रो ज्यान खतरामा हुन्छ । मैले हजुरलाई भन्न चाहेको कुरा बाटोमा भन्छु ल ! अलि बिचार गरेर ओर्लनुस्, चिप्लो छ रूख । जुम गर्दा मिल्छ भने फोटो खिच्नुस् क्यारे तर धेरै अबेर गर्न पाइँदैन ।

अब हामी डर कम हुने खुल्ला बाटो जायौँ है त । खास मैले मुख्य कुरा त्यहीँ भन्न पर्ने,‌ समयले साथ दिएन । साँझ भैहाल्यो । अब भन्दै हिँड्दा छिटै पुगेको आभास हुन्छ । त्यो बाघको अनुहार हामीले मजाले नियालेका हौँ नि है ! तर केही भेटेनौँ नि । त्यसैले त भनिन्छ नि, प्रकृतिको भाषा बिल्कुलै कम मान्छेले मात्र बुझ्छन् । उसले हामीलाई धेरै कुराको संकेत दिएको छ । हामीले त उसको भौतिक शरीर मात्र देखेका हौँ नि तर मैले पहिलेबाटै एउटा कुरा नियालिरहेको थियो । म भन्छु ल, पाइला अलि छिटो चाल्दै सुन्नुस् ।

यसले हामी सबैका लागि आइपर्ने संकटको जनाउ दिएको छ । सह–अस्तित्व कायम राख्न बिनम्र अनिरोध गरेको छ । आफू र आफ्ना वरपरका सबै कुरालाई बँचाइ राख्न निर्देशन दिएको छ ।‌ आज सारा विश्वभरि जुन भाइरसको आतङ्क फैलिरहेको छ नि यो हामीले नै निम्त्याएको संकट हो । हामी वनमा आगो लगाएर छाडिदिन्छौँ त्यसको फाइदा केवल कोइला मात्र हुन्छ बाँकी कहीँ कतै ढलेका रूखहरू काठका रूपमा प्रयोग गरौँला । तर यसको बेफाइदा कैयौँ छ, छ । आगो लागिसकेपछि त्यो मान्छे मार्ने बाघ त मर्ला त्यसको अप्रत्यक्ष असर एकछिनमा भन्छु । पहिला प्रत्यक्ष हुने असरको कुरा गरौँ। आगो लाग्दा थोरै भएपनि पृथ्वीको तापक्रममा बृद्धि हुन्छ । जसले गर्दा अन्ट्राटिका लगाएतका ठाउँमा थुप्रिएका बरफहरू पग्लिन जान्छन् ।

बरफ पग्ले पानी बन्छ, त्यसरी नै यसको वाफ बन्ने चक्र सुरु हुन्छ भन्ने सोच्नुहोला । यो पनि हुन्छ तर हाम्रो समस्या बरफमूनि लुकेको छ । अहिलेको भन्दा कैयौँ खतरनाक भाइरसहरू त्यहाँ दबेर बसेका छन् । यदि तिनै भाइरस हाम्रो समिपमा परे भने, बुझ्नुस मानव अस्तित्व सकिन एक दिन पनि लाग्दैन । अहिलेको भाइरस ति करोडौँ प्रजातिका भाइरसको एउटा झिनो अंश मात्र हो ।

अब कुरा गरौँ अर्को बेफाइको। सर्वप्रथम पृथ्विको तापक्रम अहिलेको भन्दा अलिकति पनि धेरै भयो भने हसमीलाई नयाँ वातावरण अप्नाउँन गाह्रो हुन्छ । हरित गृह ग्याको प्रभाव उत्तिकै हुन्छ । कार्बनडाइअक्साइड ग्यासको मात्र बछ्न जान्छ । जसले अनेकौँ समस्या निम्त्याउँछ ।

जसरी हामीले हाम्रो अस्तित्वको चिन्ता लिएका छौँ, त्यसरी नै हामीले सबै जैविक कुराहरूको अस्तित्वको चिन्ता लिनुपर्छ । सिमसार तथा तालहरू बचाउँनु पर्छ । पशुपक्षी र वन्यजन्तु बचाउँनु पर्छ । एउटा एउटा बिरुवामा हाम्रो जीवनको अस्तित्व गाभिएको हुन्छ। अहिले आइपरेको संकटको पछि कहीँकतै हाम्रो लापरवाही मिसिएको छ, हाम्रो अविवेकी क्रियाकलाप मिसिएको छ । अब पनि सोचेनौँ भने मानिसहरू बस्थे रे भन्ने अवस्थाको सिर्जना नहोला भन्न सकिन्न ।

अहो ! साँझ परिसक्यो हकि । अब अर्को दिन पनि मजाले घुम्न पर्छ है । आजको दिन कस्तो भयो कुन्नि ! मलाई चाहिँ नि निकै रमाइलो लागिरहेको छ । आज मजाको निद पर्छ होला । अब भोलि भेटौँला ।

तपाइको मत