बर्दियामा निषेधाज्ञा जारी (प्रशासनको पत्रसहित)
- आइतबार बैशाख १९ , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दियामा वैशाख मसान्त सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १९ गतेसम्म एकसाताका लागि घरैवस्न आदेश दिएको स्थानिय प्रशासनले न्यु भेरियन्टसहितको कोभिड–१९ संक्रमण जिल्लामा तिव्र रुपमा फैलिएपछि कडाईगर्दै निषेधाज्ञा जारी गरेको हो ।
कोभिड–१९ को साङ्लो तोड्दै सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐन २०२० को दफा २ एवम् स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम वैशाख २० गतेदेखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । निषेधाज्ञा अवधिभर अत्यावस्यक काम बाहेक घरवाहिर निस्कन प्रतिवन्ध गरिएको छ । निस्कनै परे अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।
अनुमति प्राप्त सवारी साधन, झण्डावाल सवारी र निलो (कुटनितिक) प्लेटका सवारी साधनहरु, लामो दुरीका मालबाहक साधनहरु, कुखुराका दाना, चल्ला तथा अण्डा ढुवानी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी (पोशाक र परिचयपत्र अनिवार्य) ले प्रयोग गर्ने बाहेक सबै प्रकारका निजी, सार्वजनिक एवम् सरकारी सवारी साधन सञ्चालनमा निषेध छ ।
प्रजिअ सुनारले भने शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टीन तथा आइसोलेसन, फोहरमैला ब्यवस्थापन, इन्धन, एम्वुलेन्स, शववाहन, दमकल, औषधी, तरकारी तथा फलफूल जस्ता अत्यावस्यक सेवा वाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा निषेध गरिएको छ ।
निषेधाज्ञा अवधिमा बिकास निर्माण सम्वन्धी आयोजनाहरु जनस्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालना गरी कोभिडका चिन्ह् लक्षण नदेखिएका स्वस्थ जनशक्तिलाई निश्चित स्थानमा सुरक्षित आवासको ब्यवस्थागर्दै आयोजना संचालन गर्नुपर्ने छ । निर्माण सामाग्री ढुवानीका लागि सम्वन्धित आयोजना प्रमुखले जिल्ला प्रशासन कार्यालय बर्दियासँग समन्वय तथा सहजीकरण गर्नुपर्ने प्रजिअ सुनारले प्रष्ट्याए । जिल्लाका सबै कार्यालय प्रमुखले न्युन कर्मचारी प्रयोग गरी आलोपालो प्रणालीबाट अत्यावस्यक सेवा प्रवाह गर्ने ब्यवस्था मिलाउन निर्देशन दिईएको छ ।
प्रजिअ सुनारले थपे नेपाल सरकार मन्त्रिपरिषदको वैशाख ६ गतेको निर्णय, कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सिफारिशका आधारमा जिल्ला सुरक्षा समिति बर्दियाले निषेधाज्ञा जारी गरेको हो । भारतसँग सिमाना जोडीएका जुनसुकै स्थानबाट हुने आवागमन पूर्ण रुपमा निषेध गरिएको छ । शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, सभा, सम्मेलन गोष्ठि, सेमिनार लगायतका जमघट हुने गतिविधिहरुमा भौतिक उपस्थिती पूर्ण रुपमा बन्द गरी भर्चुअल लगायतका वैकल्पिक मार्गबाट मात्र संचालन गर्न पाईने छ ।

