fbpx

खाता जैविकमार्गमा मानव–बन्यजन्तुद्वन्द रोक्न मधुवनको चाँसो

खाता जैविकमार्गमा मानव–बन्यजन्तुद्वन्द रोक्न मधुवनको चाँसो

विष्णु अधिकारी, बर्दिया । बर्दियाको विभिन्न क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि मानवीय तथा भौतिक क्षति बढिरहेको छ । मधुवन नगरपालिकाले खाता जैविकमार्गमा मानव तथा वन्यजन्तु वीच हुने द्वन्द रोकथाम तथा न्यूनीकरणका लागि सह–अस्तित्व कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा चाँसो राख्दै अन्तरक्रिया गरेको छ ।

मधुवन नगरपालिकामा पर्ने खाता जैविकमार्ग अन्तर्गत विभिन्न सामुदायिक वनहरुमा वन्यजन्तुको संख्या बढ्दै गइरहेको हुदा मानिस र वन्यजन्तु विच द्वन्द बढ्दै गइरहेको छ । जैविक विविधताको संरक्षणका लागि वन्यजन्तु र जंगलको संरक्षण आवश्यक छ । वन्यजन्तु आक्रमणबाट मानव, भौतिक संरचना र अन्नबाली जोगाउनु पर्ने चुनौती पनि उत्तिकै छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले वनमा आश्रित भएका नागरिकहरुलाई वन क्षेत्रभित्र जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिनुपर्ने बताउनु भएको छ । वनक्षेत्र सँग आश्रित परिवारलाई वैकल्पिक आय आर्जनको पद्धती विकास गरि वन क्षेत्रभित्र प्रवेश गर्न नपर्ने वातावरणको निर्माण सरोकारवाला निकायले सिर्जना गर्नुपर्ने प्रजिअ रिसालले जोड दिनु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले वन्यजन्तुको व्यवस्थापन गर्नका लागि जंगली जनावरको आनीबानी र व्यवहारका बारेमा जानकारी हुनुपर्ने बताउनु भयो । दाहालले हात्ती विवेकसिल प्राणी भएकाले उनीहरुलाई गाउँबस्तीमा आउन रोक्नका लागि गरिने विभिन्न उपायहरु अपनाईएतापनि रोक्न नसकेको उहाँको भनाई छ । पछिल्लो समय हात्तीबाट पिडित भएको स्थानमा अन्य जनावरहरुलाई पनि रोक्न सहयोग पुगोस भनि अन्य रोकथामका उपाय भन्दा कम लागतमा जमिन मुनी १ फिट ढलान गरि माथि ६ फिट सम्मको मेस वायर जडान अहिलेको अवस्थामा सफल भएको उहाँको दाबी छ । अधिकृत दाहालले यो प्रविधि सफल बनाउनका लागि स्थानीयहरुको भुमिका र सहयोग आवश्यक रहेको औल्याउनु भएको छ ।

मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाटले मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्नका लागि आएका सुझावहरुलाई सुझबुझका साथ लागु गर्न आफुले भुमिका खेल्ने बताउनु भयो । मधुवन नगरपालिकाको १, २, ३ र ५ नं. वडा वन्यजन्तु आक्रमणको दृष्टिकोणले संवेदनशील भएकोले त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकको जिउधनको सुरक्षाका लागि नगरपालिकाले विमा र राहतको अवधारणालाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्ने बताउनु भयो । भाटले त्यसक्षेत्रका नागरिकहरुलाई वन्यजन्तुबाट हुने क्षति कम गर्न सरोकारवाला निकायहरु एक भएर अघि बढ्नु पर्ने ट्डकारो आवश्यकता रहेकोमा जोड दिनु भएको छ ।

कार्यक्रमा खाता जैविक मार्ग अति संवेदनशील क्षेत्रको रुपमा रहेकोले वनक्षेत्रको चापलाई कम गर्नका लागि वैकल्पिक उर्जालाई विशेष महत्व दिएर कार्यक्रम लागु गर्नुपर्ने खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताउनु भयो । मानवको जिवन विमा, पशुधन विमा, अन्नवाली विमा र संवेदनशील क्षेत्रमा मेश वायर फेन्सिङ्ग तारवारको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । संवेदनशील क्षेत्रका नागरिकहरुलाई विद्यालय, गाउँवस्तीमा संरक्षण शिक्षाको साथै वन्यजन्तुबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष गुरुङ्गले खाता क्षेत्रमा वन प्राविधिक टोली सहित वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भयो । संरक्षण क्षेत्रमा लागेका पुर्व वार्डेन रमेश थापाले हात्तीको आनीबानी र व्यवहारका विषयमा श्रव्यदृश्य प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रमुख, तराई भु–परिधिका कार्यक्रमका प्रतिनिधि लगाएत जिल्ला स्थित सरोकारवाला निकाय सहभागी थिए । मधुवन नगरपालिकामा आ.ब. ०७७÷०७८ मा ७ जना र ०७८÷७९ मा ३ जना नागरिक बाघको आक्रमणमा परि ज्यान गुमाइ सकेका छन् ।

तपाइको मत