fbpx

असहाय बालवालिकालाई पढाई खर्च बापत बाख्रा सहयोग

असहाय बालवालिकालाई पढाई खर्च बापत बाख्रा सहयोग


दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिकाका असहाय २ बालबालिकाका अभिभावकलाई बाख्रा सहयोग गरिएको छ । पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले स्याक नेपाल बाकेले प्लान ईन्टरनेश्नल नेपालको साझेदारीमा एक बालक र एक बालिकाको संरक्षकलाई बाख्रा सहयोग गरेको हो ।

बढैयाताल गाउँ पालिका वडा नं ८ नयाँबस्तिका कक्षा ८ मा अध्ययनरत १४ बर्षका अशोक थारु र गुलरिया नगरपालिका वडा नं. १२ कालिनगरकी कक्षा ३ मा अध्यनरत बर्ष ९ की अंकिता थारुलाई सहयोग उपलब्ध गराइएको छ । लाभान्वित भएका अशोक थारुको वुवाको रोजगारीको लागि भारत गएको अवस्थामा करिब १० वर्ष अघि मृत्यु भएको थियो । बुवाको मृत्यु पश्चात आमाले दोश्रो विवाह गरेपछि हजुर वुवा हजुर आमाको संरक्षणमा बस्दै आएको अशोक थारुका हजुर वुवा डिलबहादुर थारुले बताउनु भयो । यसै रोजगारीको शिलसिलामा भारत गएका अंकिता थारुको बुवाको पनि भारतमा ज्यान गएको पारिवारीक श्रोतले जनाएको छ ।

बुवा गुमाएका दुई बालबालिकाको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले उनीहरुको संरक्षकलाई बाख्रा सहयोग गरेको स्याक नेपाल बाकेका प्रयाभुत संचार कार्यक्रमका बरिष्ठ अधिकृत शेषकान्त शर्माले जानकारी दिनु भएको छ । बाख्रा सहयोग गर्ने कार्यक्रम अन्र्तगत सोमबार बढैयाताल गाउँपालिका ८ न. वडा कार्यालयको प्रांगणमा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेय र ८ का वडाध्यक्ष तेजनाथ पौडेलले संयुक्त रुपमा अशोक थारुका हजुर आमा गोहनी थारुलाई एक माउ बाख्रा सहित ३ वटा पाठा पाठी हस्तान्तरण गर्नु भएको छ ।

गुलरिया नगर पालिका १२ कालिका नगरकी अंकिता थारुको संरक्षकलाई पनि ५ वटा वाख्रा अनुदान स्वरुप सहयोग प्रदान गरिएको स्याकले जनाएको छ । आर्थिक समस्याले बालबालिका पढाईवाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले सहयोग गरिएको बताउदै अभिभावक गुमाएका अतिविपन्न परिवारमा सहयोग प्रदान गरिएको स्याक नेपालका अध्यक्ष पाण्डेयले बताउनु भयो ।

तपाइको मत