fbpx

जनशक्ति अभावकाबिच अस्पतालमा पाठेघरको शल्यक्रिया

जनशक्ति अभावकाबिच अस्पतालमा पाठेघरको शल्यक्रिया

विष्णु अधिकारी, बर्दिया । बर्दिया अस्पतालमा जनशक्ति अभावका बिच पाठेघरको शल्यक्रिया सफल भएको छ । मासु पलाएर समस्या ब्यहोरेका महिलाको पाठेघरको उपचार गरिएको छ ।

बर्दिया अस्पतालमा जटिल समस्याका उपचार हुने भएपछि विरामीहरुले राहत महसुस गर्न थालेका छन् । अस्पतालमा जनशक्ति अभाव रहेको अवस्थाका बिच पेट चिरेर पाठेघरको सफल शल्यक्रिया भएको हो । यसले विरामीहरुलाई सहजता भएको छ । अन्यथा यस्ता जटिल शल्यक्रियाका लागि बर्दियाली नागरिकलाई भारतको लखनउ वा बाँकेको नेपालगंज जानु पर्ने बाध्यता थियो । मंगलवार ३ जनाको पाठेघरमा मासु पलाएर समस्या झेलिरहेका महिलाहरुको सफल उपचार भएको छ । पेटमा समस्या देखिएपछि उचारका लागि बारबर्दिया नगरपालिका वडा नं. ११, की ४० बर्षिया समिता थारु बर्दिया अस्पताल पुगेकी थिइन ।

उहाँको भिडियो एक्सरे गर्ने क्रममा पाठेघर भित्र मासु पलाएका कारण अप्रेसन गर्नुपर्ने चिकित्सकले सुझाएका थिए । यसैक्रममा ४० बर्षिय समिताको बर्दिया अस्पतालका चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको छ । आफ्नै नजिकको अस्पतालमा उपचार सम्भव भएपछि सहजताको साथै आर्थिक भार समेत कम भएकोभन्दै विरामीका आफन्तले खुशी व्यक्त गरेका छन् । पछिल्लो समय बर्दिया अस्पताल प्रति विरामीहरुको विश्वसनियता बढ्दै गएको पाईन्छ । अस्पतालमा एकैदिनमा ३ जना महिलाको सफल शल्यक्रिया भएको छ । गुलरिया नगरपालिका वडा नं. १ की ६० बर्षिय कान्तियादवको लामो समयदेखि पाठेघरको समस्या भएको र आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकिरहेको अवस्थामा थोरै रकममा आफ्नै अस्पतालमा उपचार गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

गुलरिया ७ की ४५ बर्षिया सम्पता यादवको पनि पाठेघरमा पलाएको मासु निकाल्न चिकित्सकहरु सफल भएका छन् । बर्दिया अस्पतालबाट उपचार सम्भव भएपछि ८० हजार सम्म खर्चलाग्ने शल्यक्रिया २५ हजार भित्र सम्भव भएको छ । यसले अस्पताल प्रति विश्वास बढ्र्दै गएको हो । शल्यक्रियालाई सम्भव पार्नका लागि स्त्रीरोग विशेषज्ञ डाक्टर सामिनी चौधरी, डाक्टर राम विश्वास राय सहितको चिकित्सक टोली अस्पतालमा खटिएको छ । बर्दिया अस्पतालको मुख्य समस्या जनशक्ति र उपकरणको अभाव रहेतापनि चिकित्सकको टिमको अथक प्रयासबाट शल्यक्रिया सम्भव भएको स्त्रीरोग विशेषज्ञ डा. सामिनी चौधरीले बताउनु भयो ।

बर्दिया अस्पतालमा दक्ष चिकित्सक भएपनि दरबन्दि अनुसारको जनशक्ति अभावका कारण उपचारमा कठिनाई हुने गरेको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष कुमार पाण्डेयले बताउनु भयो । अस्पतालमा मेजर सर्जरी सेवा नियमित गर्नका लागि सरकारबाट अस्पताललाई स्तरोन्नती गरि जनशक्ति र उपकरणहरु उपलब्ध गराएमा शल्यक्रिया तथा उपचार बर्दिया अस्पतालबाटै दिन सकिने चुरेकुञ्जलाई बताउनु भयो । बर्दिया अस्पतालमा रहेको अप्रेशन कक्षमा तालिम प्राप्त स्टाफ नर्सको दरबन्दि र अप्रेशनका लागि चाहिने औजार तथा शरिर लठ्याउने मेसिन तथा जनशक्ति भएमा जटिल किसिमका शल्यक्रिया गर्न पनि सम्भव हुने प्रमुख पाण्डेयको भनाई छ । सरकारको आमनागरिकको स्वास्थ्य प्रतिको चाँसो देखाएमा आफ्नै वरपरका अस्पतालहरुबाट शल्यक्रिया सहितको उपचार सम्भव गराएमा आमनागरिकको सरकारी स्वास्थ्य संस्था प्रति विश्वास बढ्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेयले प्रष्ट्याउनु भयो । 

तपाइको मत