fbpx

वैदेशिक रोजगारीमा जानेलाई पालिकाबाटै श्रमस्विकृति

वैदेशिक रोजगारीमा जानेलाई पालिकाबाटै श्रमस्विकृति


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै उक्त सेवाको व्यवस्थापन मिलाउन परिपत्र भएअनुसार बाँसगढी नगरपालिकाले सेवा सुरु गरेको हो । स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु गरिएको छ । बाँसगढी नगरपालिकाले उक्त सेवा सञ्चालन गर्न बैशाखको पहिलो सातादेखि तयारी गरेको थियो ।

श्रम स्वीकृति सम्बन्धी कार्यविधि, निती नियम लगाएतका कुरा अध्ययन गर्न बैशाखको पहिलो सातादेखि नै शुरु गरेको थियो । बाँसगढी नगरपालिका उक्त सेवा संचालन गरेसंग बाँसगढी नगरपालिका वाड नं. ४ बठुवाका नरबहादुर मगर र वाड नं ६ दमौलीका राजेशसिंह ठकुरीलाई पहिलो पटक श्रम स्वीकृति प्रदान गरेको बाँसगढी नगरपालिकाका रोजगार संयोजक सुभाष पराजुलीले बताउनु्भयो । उहाँका अनुसार मन्त्रालयको परिपत्रअनुसार सेवा सुरु गरिएको हो ।

वैदेशिक रोजगारमा जानका लागि बुटवल वा काठमाडौं गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता हटेको बाँसगढी नगरपालिका ६ का विनोद परियारले बताउनुभयो । अहिले स्थानीय सरकारमार्फत उक्त सेवा दिदा खुसी भएको उहाँको भनाई छ । ‘पहिले श्रम स्वीकृति लिन काठमाण्डो गएको थिएँ,’ उहाँले भन्नुभयो, ‘लामो समय लाइन बस्नुपर्ने, एजेन्टबाट ठगिने खतरा, यातायात र अन्य खर्चलगायत झन्झट हुन्थ्यो । अहिले यहींबाट सहज रूपमा सेवा पाएँ । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने बाँसगढी नगरपालिकाका सुचना अधिकारी क्षितिज पौडेलले जानकारी दिनुभयो ।

राजापुरमा पनि स्विकृति

राजापुर नगरपालिकाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन शुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको निर्णय तथा वैदेशिक रोजगार विभागको निर्देशन अनुसार राजापुर नगरपालिकाले श्रम स्वीकृति दिन शुरु गरेको हो । राजापुर नगरपालिका वडा नं ८ सडुवाका जलविर थारुलाई साउदी अरेबियाका लागी श्रम स्वीकृति दिएर सेवा सुरुवात गरिएको राजापुर नगरपालिका रोजगार संयोजक रमेश कुमार पोखरेलले जानकारी दिनुभयो । थारुलाइ राजापुर नगरपालिका नगर उप–प्रमुख मनकला कुमारी चौधरीले श्रम स्वीकृति हस्तान्तरण गर्नुभएको छ ।

तपाइको मत