नेकपा एस बर्दियाले भौतिकपूर्वाधार मन्त्रीलाई बुझायो ज्ञापनपत्र
- आइतबार बैशाख ३१ , २०८०
चुरेकुञ्ज, गुलरिया । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) जिल्ला कमिटी बर्दियाको प्रतिनिधि मण्डलले भौतिकपूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री वेदुराम भुसाललाई भेटी जिल्लाका महत्त्वपूर्ण योजनाहरुका बारेमा छलफलगर्दै यसवर्षको बजेटमा समेट्न ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एसका बर्दिया इन्चार्ज एवम् संविधानसभा सदस्य माननीय निर्मलप्रकाश सुवेदीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–रम्मापुर सडकखण्डमा पर्ने बबई नदिको जब्दिघाटको पुल उद्घाटन नगर्दै नदिले बगाएकोले सो पुल निर्माणका लागि यसवर्षको बजेट व्यवस्था गरि निर्माण कार्य थालनी गर्न माग गरेको प्रतिनिधि मण्डलका नेता पर्मप्रसाद पोखरेलले बताउनु भयो । गुलरिया–रम्मापुर सडकले पुर्वपश्चिम राजमार्गलाई जोड्ने भएकोले पुललाई प्रथामिकतामा राखि बजेट व्यवस्था गर्ने मन्त्री प्रकाश ज्वालाले प्रतिनिधि मण्डललाई प्रतिबद्धता जनाउनु भएको नेकपा एसका नेता बखत बहादुर खड्काले जानकारी दिनु भएको छ ।
जिल्लाको नदि कटान र डुबान समस्यामा पनि छलफल भएको र यस सम्बन्धमा प्रधानमन्त्रीलाई आवश्यक बजेट व्यवस्थापन गर्नका लागि मन्त्री ज्वालाले पहल गर्ने बताउनु भएको खड्काको भनाई छ । प्रतिनिधि मण्डलले कृषि मन्त्री डाक्टर वेदुराम भुसाललाई भेटेर जिल्लामा कृषिको क्षेत्रमा पर्याप्त बजेट व्यवस्थापन गर्न माग गरेको छ । धानबाली, मकैबाली, माछापालन र तरकारी खेतीमा गरिब विपन्न वर्गका लागि छुट्टै थप कार्यक्रम व्यवस्था गर्न माग गरेको सुवेदीले बताउनु भयो । कृषि मन्त्रीले यश वर्षको बजेट कार्यक्रममा समावेश गरी कृषिको क्षेत्रमा उत्पादनमा वृद्धि गर्ने कार्यक्रम बनाउने प्रतिबद्धता गर्नु भएको नेता सुवेदीको भनाई छ ।