fbpx

मधुवनमा १४ लाख ६५ हजार मूल्य बढीको अवैध काठ बरामद

मधुवनमा १४ लाख ६५ हजार मूल्य बढीको अवैध काठ बरामद

हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन स्थित बालकुमारीमा ढोढरी प्रहरीले २ सय ८३ दशमलव ६१ क्यूफिट खयर, साल र सिसौका काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बखत बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोली, सशस्त्र प्रहरी वल वि.ओ.पी. भग्रैया र सशस्त्र प्रहरी वल वि.ओ.पी. धनौरा संयुक्त टोली र खाता सब–डिभिजन वन कार्यालय सानोश्री बर्दियाका अधिकृत सन्तोष चौधरीको संयुक्त टोलीले मधुवन नगरपालिका वडा नं–३ बाट अवैध काठ बरामद गरेको हो ।

बरामद गरिएको काठ १४ लाख ६५ हजार ५ सय ५५ बराबर मूल्य पर्ने सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभएको छ । विशेष सूचनाका आधारमा मधुवन नगरपालिका वडा नं–३ विपतपुर बस्ने धर्म बहादुर खत्रीको खाली घर, मकै बारी र बालकुमारी सः मिल तथा फर्निचर उद्योगबाट समेत गरि चिरान गरेका अवैध काठ फेला परेको हो ।

बरामद गरिएको काठ आवश्यक कारवाही तथा अनुसंधानका लागि खाता सब–डिभिजन वन कार्यालय सानोश्री बर्दियालाई बुझाएको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभएको छ । केही समय यता मधुवन क्षेत्रमा काठ तस्करीका घटनामा भएको वृद्धिसँगै प्रहरीले विशेष अभियान संचालन गरेपछि तस्करी र अवैध काठहरु धमाधम बरामद हुन थालेका छन् । तर काठ तस्करमा संलग्न ब्यक्तीहरु भने पक्राउ पर्न सकेका छैनन् ।

तपाइको मत