रानीजमरा कुलरिया सिंचाई कैलालीका उपभोक्तालाई तालिम
- बिहिबार बैशाख २१ , २०८०
भिमा कंडेल, कैलाली । रानी जमरा कुलरिया सिंचाइ आयोजनाले उपशाखाका पदाधिकारी जीबीभी फोकलपर्सन टोली नेता तथा वडघरहरुका लागि तालिम संचालन गरेको छ । पुर्व निर्माण र निमार्ण कार्यको गुणस्तर नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जानकारी दिन तालिमको आयोजना गरिएको समाजशास्त्री धर्मेन्द्र कुमार झाले जनाकारी दिनुभयो ।
रानीजमरा कुलरिया अन्तर्गत छ वटा समुहलाई दुई दुई दिन गरी १२ दिनसम्म संचालन हुने तालिमको मुख्य उद्धेश्य आयोजनाद्वारा हुने निर्माण कार्यमा सम्बन्धित उपभोक्ताहरुको सक्रिय र सार्थक सहभागिता तथा निगरानीमा गुणस्तर नियन्त्रण गराउने रहेको छ । नहरका विभिन्न संरचनाहरुको परिचय र निर्माण प्रक्रियामा उपभोक्ता समितिको भुमिका तथा गुणस्तर नियन्त्रणमा अनुगमन गर्नुपर्ने पक्षहरुका बारेमा विभिन्न सम्बन्धित विज्ञहरुबाट प्रस्तुती दिईएको छ ।
रानी जमरा कुलरिया आयोजनाले सिंचित क्षेत्रफल भित्र कर्णाली नदिको पानीलाई सदुपयोग गरी कृषि प्रणालीमा सुधार ल्याउन, कृषि उत्पादनमा बृद्धिगर्दै कृषकहरुको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्दै आएको छ । सिंचाइ प्रणालीमा आवश्यकता अनुसार पानी नियमन तथा नियन्त्रण गर्नका लागि बाँध, ढोके संरचना, साइफन, डुढ, स्केप र नहर संजाल समेतको आधुनिकिकरण गरी सिंचित क्षेत्रभित्रका किसानहरुको खेतमा सिंचाइ सुविधा पुर्याउनु र सिंचाई प्रणालीको संचालन तथा मर्मत संभार गर्ने यस आयोजनाको उद्धेश्य रहेको छ ।
आयोजनामा सिंचित क्षेत्र विकास अन्तर्गत निर्माण हुने संरचनाहरुको बारेमा सिंचाइका उपभोक्ताहरु तथा प्रभावित घरपरिवारले पुर्ण रुपमा जानकारी पाउनु पर्दछ र यस विषयमा रानी जमरा कुलरिया सिंचाइ आयोजनाले सबै कुलोहरुमा नियमित रुपमा जानकारी गराउदै आएको छ । २६ गतेसम्म संचालन हुने तालिममा सिंचित क्षेत्र विकासको कुनै पनि क्रियाकलापमा १८ वर्ष मुनिका कुनै पनि बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउन नमिल्ने, ज्याला भुत्तानी गर्दा महिला तथा पुरुषबीच गरिने भेदभाव, स्थानीय स्तरमा प्रचलित सामाजिक संस्कार, रीतीरिवाज लगायतका विषयमा जानकारी गराईने आयोजनाले जनाएको छ । १४ गतेबाट सुरु भएको तालिम २६ गतेसम्म संचालन हुनेछ ।