बाल अधिकार संरक्षणका सवालमा बाँसगढीमा छलफल
- बुधबार बैशाख २० , २०८०
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकामा बाल अधिकार समितीको बैठकमा बालबालिकाहरुको हक अधिकारको विषयमा छलफल भएको छ । बालबालिकासंग सम्बन्धित नीतिहरु, कार्यबिधीहरु, निर्देशिकाहरु, बाल अधिकारसंग सम्बन्धित सवालहरुको बारेमा बैठकमा छलफल भएको हो ।
नगरस्तरिय बाल अधिकार समितीको बैठक बाँसगढी नगर उपप्रमुख तथा नगरस्तरिय बाल अधिकार समितीका संयोजक इन्दिरा चौधरीको अध्यक्षतामा भएको हो । बैठकमा बाल अधिकार समितीका संयोजक चौधरीले बाल अधिकारका सवालहरु सम्बोधन गर्न आफनो तर्फबाट र समग्र पालिकाको तर्फबाट निरन्तर रुपमा काम भईरहेको जानकारी दिनुभयो । आगामी दिनमा यसको कार्यान्वयनको प्रभाबकारिता बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
आगामी वर्षका लािग नितिकार्यक्रम तथा बजेट बनाउने समय भएकाले बालबालिकाको अधिकारसंग सम्बन्धित नितीहरु, कार्यबिधीहरु, निर्देशिकाहरुलाई पहिलो प्राथमिकतामा राखेर आगामी कार्यपालिकाको बैठकबाट अनुमोदन गरिने प्रतिबद्धता पनि उपप्रमुख चौधरीले व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागि बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख छत्र बहादुर शाही, योजना शाखा प्रमुख खड्ग बहादुर वली, जनता मावि बठुवाका प्रधानाध्यपक ज्ञानेन्द्र पौडेल लगायतले आगामी वर्षका लागि बाल अधिकार सम्बन्धी कार्यक्रम बनाउदा लागुपदार्थ दुब्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना, विद्यार्थीहरु ड्रपआउट हुनुको कारण र पालिका भित्र रहेका पिडित बालबालिका, महिला तथा जेष्ठ नागरिकलाई सम्बोधनका लागि एउटा सेभहाउस हुन जरुरी रहेको बताएका थिए ।
बैठकमा बाल अधिकार संरक्षणको सवालमा नगरपालिकालाई निरन्तर सहयोग गरेकोमा बाँके यूनेस्को क्लवलाई धन्यबाद दिनुभएको थियो । बाँके यूनेस्को क्लवका सामाजिक परिचालक प्रजोना श्रेष्ठको समेत सहभागिता रहेको थियो । बाँके यूनेस्कोको परिकल्पना विकासद्वारा मानव मस्तिष्कमा शान्तिको स्थापना बाल विवाह, चाडै हुने विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजनाद्वारा बाल अधिकार समितीको बैठक सम्पन्न गरिएको छ ।