राष्ट्रिय सूचना दिवसका अवसरमा साइबर क्राइम बारे सचेतना
- मंगलबार बैशाख १९ , २०८०
केशव कोइराला, बर्दिया । राष्ट्रिय सूचना दिवसको अवसरमा बर्दियाको राजापुरमा साईबर क्राईम सम्बन्धी सचेतना दिईएको छ । कम्प्यूटर एसोसियसन नेपाल महासंघ क्यान बर्दियालेसाइबर क्राइम सम्वन्धी सचेतनासँगै अन्र्तक्रृया कार्यक्रम आयोजना गरेको हो ।
साइवर क्राइम के हो, कसरी हुन्छ र बढ्दो साइवर क्राइमलाइ कसरी नियन्त्रण गर्ने लगायतका बिषयमा जानकारी दिने उदेश्यले अमर शहिद क्याम्पसका बिद्याथीहरुमाझ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सहजिकरण गर्दै इलाका प्रहरी कार्यलय बर्दियाका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु साइबर क्राइममा पर्ने हुँदा फेसबुक, मेसेन्जर, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा कसैको इच्छा विपरीतको भिडियो, फोटो, मानिसको आवाज आदिको सक्कल वा नक्कलका रूपमा दुरुपयोग गरी व्यक्तिको मानमर्यादा, प्रतिष्ठा, इज्जतमा असर पार्ने कार्य गर्न नहुँने बताउनु भएको छ ।
नेपालमा साइबर क्राइम भएको खण्डमा कानुनि रुपमा विद्युतीय कारोबार ऐन–२०६३ र सँस्थागत रुपमा साइबर क्राइम सम्बन्धी कसुरको अनुसन्धान र तहकिकात गर्न नेपाल प्रहरीमा केन्द्रीय साइबर व्युरोको रहेको समेत डीएसपी सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा सहजिकरण गर्दै कम्प्यूटर एसोसियसन नेपाल बर्दियाका अध्यक्ष सूर्य केसीले साइवर क्राइमका घटनाहरु स्थानिय स्तरमा बढ्दो क्रममा रहेको र केहि प्रतिनीधि मुलक घटनाहरु फेसबुकको आइडी ह्याक गर्ने देखी राजनीतिक दलका उम्मेदवारको भिडीयो अतिरंजित पार्ने, सस्तोमा मोवाइल दिन्छु भन्दै ठगि गर्ने कार्यहरु भइरहेकाले यस्ता कार्यबाटसचेत रहने बारेमा सहभागी माझ प्रस्ट्याउनु भयो ।
कार्यक्रममा बोल्दै कम्प्यूटर एसोसियसन नेपाल लुम्वीनी प्रदेश सदस्य गोपाल निरौलाले साइवर क्राइम सम्वन्धी अपराध कसैवाट भएको भए आफुहरुले कानुनी उपचारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा भइरहेका साइवर क्राइमका घटना र त्यसले निम्ताएका परिस्थीति सहभागीमाझ जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल विओपी राजापुरका प्रमुख प्रहरी नायव उपरिक्षक शंकर तिवारी, अमर शहिद वहुमुखी क्याम्पस राजापुरका प्रमुख अनिल दत्त चौधरीले साइवर अपराध बारे सतही रुपमा बुझ्न जरुरी रहेको भन्दै अहिले युवा समुह बिषेश रुपमा सचेत हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, बिद्याथी, सुरक्षाकर्मी सरोकारवाला सहभागी थिए ।