ब्यवस्थापन गर्न नसक्दा बढैयातालमा विपद् बजेट फ्रिज हुने
- आइतबार बैशाख १७ , २०८०
दलबहादुर सुनार, बढैयाताल । विपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापनका लागि बढैयाताल गाउँ पालिकाको भुमिका कमजोर देखिएको छ । बढैयातालमा बिपद ब्यबस्थापन सम्बन्धि कार्यबिधि नहुँदा बिपदकोे लागि बिनियोजित २५ लाख रुपैया प्रयोग बिहिन हुने अवस्था सिर्जना भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा बढैयातालले आयोजना गरेको पालिका स्तरीय मौसम पुर्वानुमान विपद ब्यबस्थापन तयारी कार्यशाला गोष्ठिमा स्थानिय नागरिकले कुरा उठाएका छन् । विपद पुर्वनुमान र ब्यबस्थापनकोे सन्दर्भमा आयोजित कार्यशाला गोष्ठिका प्रमुख अतिथि एवं रेडक्रस शाखा बर्दियाका अध्यक्ष कृष्ण गौतमले बिपद ब्यबस्थापन कार्यशाला गोष्ठिको उद्देश्य, औचित्य र महत्वको बारेमा प्रकाशपार्दै बर्दिया जिल्लाका ८ पालिका मध्ये बढैयाताल गाउँपालिका बिपद ब्यबस्थापनको सवालमा पछि परेको बताउनु भयो । पालिकाले यथार्थ बिबरण संकलन गरि समयमा सिफारिस गर्न नसक्दा क्षति भएका नागरिकले पाउनु पर्ने गत वर्षको क्षतिपुर्ति वापतको राहत समेत गुमाउनु परेको बताउदै विपद ब्यबस्थापनको सवालमा स्थानिय सरकार लगायत नागरिकको चासो र सक्रियता हुनु पर्नेमा जोड दिनुभयो ।
उप शाखा बढैयातालका अध्यक्ष बेनिमाधब पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिपद् ब्यबस्थापन बढैयातालका फोकल पर्सन रमेश पौडेलले बिपद् ब्यबस्थापनको लागि पालिकामा न योजना न कार्यबिधि नै भएको बताउनु भयो । कार्यबिधि नहुँदा विपद् ब्यस्थापन प्रभाबकारी हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । विपदबाट प्रभाबितहरुको क्षतिको अध्ययन गरि २४ घण्टा भित्र सेवा दिनु पर्ने हुन्छ तर पालिकामा कार्यबिधि नहुदा सेवा प्रबाहमा समस्या भएको भन्दै छिटो र छरितो आपतकालिन सेवा प्रबाह गर्नको लागि पालिकाले बिज्ञ हायर गरेर कार्यबिधि बनाउनु पर्नेमा उहाँको जोड छ ।
सामान्यता जनताको नजिक रहेर जनताका माग र आवश्यकता परिपुर्ति गर्ने तथा सेवा प्रभाह गर्ने जिम्मेवारी स्थानिय सरकारहरुको हुन्छ । तर बढैयाताल गाउँपालिकाको ढिला सुस्तीले गर्दा गत बर्ष डुवानवाट धानको क्षति भएका कृषक र हावा हुरीवाट घरको क्षती भएका नागरिकले पाउनु पर्ने सुबिधा नपाएको र बिपदको सेवा पाउन सास्ती भोग्नु परेको पिडितहरुले गुनासो छ । कुनै पनि विपद बाजा बजाएर आउँदैन । तापनि विपद्को समयमा जानतासम्म सबैभन्दा छिटो स्थानिय तहनै पुग्ने गर्दछ । यसकारण स्थानिय तह विपद् जोखिम न्यूनीकरण र ब्यबस्थापनको मेरुदण्ड मानिन्छ तर बढैयातालमा भने यो सवाल गौण मानिएको स्थानियको आरोप छ ।
कार्यक्रममा नागरिक समाज बढैयातालका संयोजक बालकृष्ण लामिछानेले विपद् ब्यबस्थापनमा बढैयातालकोे भुमिका प्रभाबकारी नहुदा बढैयातालका नागरिकले पाउनु पर्ने राहत नपाएकोमा आक्रोस ब्यक्त गर्नुभएको छ । यस बर्ष देखि बिपद् ब्यबस्थापन लाई प्रभाबकारी बनाउनु पर्नेमा संयोजक लामिछानेल जोड दिए । यसै गरी मन्तब्य राख्दै बढैयाताल ८ का अध्यक्ष तेजनाथ पौडेलले बढैयाताल विपद म्यापिङको सवालमा पछी परेको र विपदको म्यापिङ गर्नु पर्नेमा जोड दिनुभयो । म्यापिङको आधारमा पुर्वानुमान गर्न र पुर्वानुमान अनुसार पुर्वतयारी गर्नु सहज हुने वडाध्यक्ष पौडेलको भनाई छ ।
बढैयाताल गाउँ पाकिलाकाका प्रमुख, प्रशासकिय अधिकृत दान बहादु ऐडी, वडा अध्यक्षहरु, शाखा प्रमुख तथा प्रतिनिधि, ईलाका प्रहरी कार्यालय मैनापोखर प्रतिनिधि, शसस्त्र प्रहरी बल जमुनीका प्रहरी प्रमुख, उद्योग बाणिज्य संघ तथा नागरिक समाजका बढैयातालका अध्यक्ष, पत्रकार लगाएत ४२ जनाको सहभागिता रहेको जनाएको छ । बढैयाताल गाउँपालिकाको समन्वयमा भएका कार्यक्रममा रेडक्रस बर्दियाका लौटन थारुले बिपद ब्यबस्थापनको लेखा जोखा सम्बन्धि सहजिकरण गर्नु भएको थियो । उप शाखाका सचिब मोहनलाल रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको हो ।
विश्वमा नेपाल विपद जोखिम उच्च भएको देश मानिन्छ । बर्दिया जिल्लाको बढैयाताल पनि तराईमा हुने प्राकृतिक विपद्बाट अछुतो छैन । कहिले बाढी, कहिले खडेरी, कहिले हुरीबतास, कहिले शीतलहर, तातो हावा, डढेलो, आगलागी जस्ता प्राकृतिक बिपदबाट प्रभावित पालिका मध्ये एक पालिका हो । यस्ता प्राकृतिक बिपदले धन जनको ठुलो क्षति पुर्याउने सम्भावना भएको हुँदा सम्भावित जोखिम न्यूनिकरणका लागि सबै सरकोकार वालाको ध्यान जानु जरुरी छ ।