गायत्री उन्नत बाख्रापालन फमको सार्वजनिक सुनुवाई
- आइतबार बैशाख १७ , २०८०
विन्दु चौधरी, बाँसगढी । बाँसगढी ८ लक्ष्मणामा रहेको गायत्री उन्नत बाख्रापालन उप आयोजनाको अन्तिम सार्वजनिक सुनुवाई गरिएको छ । विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलको अनुदान साझेदारी भएपछि बाँसगढी लक्ष्मणाका गायत्री एग्रो तथा बाख्रा फर्मले सार्वजनिक सुनुवाई गरेको हो ।
उन्नत बाख्रापालन तथा खसीबोका विक्रि वितरण उप आयोजनाका लागि नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजनाद्वारा विकेन्द्रीकृत आयोजना सहयोग इकाई बुटवलले अनुदान साझेदारी गरेको थियोे । बाख्रा फर्मका संचालक उमाकान्त चापागाईले संचालन गरेको उप आयोजना अन्तर्गत एक सय ८७ वटा बाख्रा रहेका छन् । अनुदानग्राही संस्थाको २५ लाख ६ हजार ३ सय ८४ रुपैया अनुदान, वित्तीय लगानी १४ लाख ९८ हजार ५ सय ४५ रुपैया र सो लगानी रकम रु १० लाख ७ हजार ७ सय १३ गरी कूल ५० लाख १९ हजार ७ सय ६८ रुपैयाँमा उप आयोजना सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बाँसगढी नगरपालिका वाड नं ८ का वडाअध्यक्ष तुलप्रसाद गौतमले उप आयोजनाका लागि यति ठूलो रकम अनुदान प्राप्त हुनु अवसर भएको बताउनुभयोे ।
उहाँले प्राप्त अनुदानको उपयोगसँगै नमूनाका रुपमा बाख्रापालन व्यवसायी बन्न किसानहरुलाई आग्रह गर्नुभयो । साझेदारी आयोजनाको विधी र प्रकृया अनुसार छिटो काम गरेर लाभ लिन र यसलाई निरन्तरता दिन पनि उहाँको आग्रह छ । कार्यक्रममा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बरालले उन्नत जातको बाख्रा तथा स्वच्छ र गुणस्तरीय मासु उत्पादन गर्ने उप आयोजनाको उद्देश्यले बाँसगढी उद्योग बाणिज्य संघलाई पनि राम्रो हुने बताउनुभयो । उहाँले सिमानाका नजिक भएका कारण भारतबाट पशुचौपाया खुलेआम आईरहेको भन्दै यसलाई रोक्न स्थानिय सरकार र प्रहरी प्रसासनलाई अनुरोध गरेको बताउनुभयो । कार्यक्रममा स्थानिय बाख्रापालन किसानहरुको सहभागिता थियो । कार्यक्रम कुल बहादुर विकले संचालन गर्नुभएको थियो ।