साहित्य श्रृजना : शिव भजन
- बिहिबार बैशाख १४ , २०८०
चुडामणी भुसाल, मधुवन ४, बर्दिया, शिव भजन ।
हे गणेश, कुमार, पार्वति अनि गंगा माता, हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता,
महाकाली, महालक्ष्मी महासरस्वती, सम्झीएर दर्शन गर्छु देवी देउता जती
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलासमा लैजाउन शिव … ।
हे, शिरै माथी गंगाजल गलै नागको माला, डम्बरु र त्रिशुल लिने रुपै झलमल
कैले शिव भगवान मसानघाटमा बस्ने, तेति मात्रै नभएर खरानी नी घस्ने
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलासमा लैजाउन शिव … ।
हे, तेत्तीस कोटी कन्याकाबा दक्षप्रजापति, सबै कन्या दानदिए बाँकी रहिन सति
सत्यदेवी माग्न भनी गए शिव भोला, बाँकी रहिन यी सुन्दरी मलाई दिनु होला
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलासमा लैजाउन शिव … ।
हे, दक्ष प्रजापति हेर लागे रिसाउन, बैकुण्ठमा गए शिव बिन्ति बिसाउन
शिवजीलाई सम्झाउँदै भन्छन् विष्णु हरी, हजुरलाई सत्यदेवी पार्छु कसैगरी
मलाई तिम्रै कैलाशमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, दक्ष प्रजापति भेट्न बासुदेव आए, बासुदेवलाई सबजनाले दर्शन गर्न लाए
सती मलाई दिनुस भनी पारे सबै ठिक्क, शिवजीलाई पारे सती बाआमालाई दिक्क
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, सत्यदेवी पाउँदाखेरी शिव खुशी भए, धेरै बस्न हुन्न यहाँ भन्दै कैलास गए
शिव शंकर भोलेनाथको लिला थरीथरी, झुपडीलाई श्रृष्टि गरी सुते शिव हरी
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, झुपडीलाई भत्काएर देखाए दरबार, सत्यदेवी खुशी भईन् बन्नेभो घरवार
ब्रम्हाण्डका मालिक एक मेरा पशुपति, मलाई छोडी कही नजानु भन्छिन् प्यारी सती
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, दक्षप्रजापति अनि शिव शंकर भोला, दुईमा बैरभाव भयो कसोगर्ने होला
रिसाउँदै दरबार आई यज्ञ गर्न लागे, शिवजी र सती बाहेक अरु सब बोलाए
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, नारदमुनी थाहा पाए कैलासमा गए, माईतमा यज्ञ गरेपनि सबै भन्दा भए
शिवजीलाई विन्ती गरी सती माईत आईन, हामलाई किन डाक्नु भएन भनी रुन लाईन
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, बाको कुरा सुन्दाखेरी सारै दुःख मानिन्, बाच्नु भन्दा मर्नु बरु जाती हुन्छ ठानिन्
अग्नी कुण्ड विशाल थियो बलिरह्यो, समाधीमा सुन्दर शरिर त्यही ढली गयो
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, शिवजीले थाहा पाए कैलासमा थिए, त्यही यज्ञमा आए शिव उग्र रुपले
महादेवको क्रोधले यज्ञ भयो रद्द, दक्षपनि बाँकी रहेनन् शिर काटियो चट्ट
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, डराई डराई पछिबाट भन्छन् विष्णु हरी, आफ्नो रिसलाई शान्तपार्नु प्रभु कसैगरी
शिवजीले विष्णुको नी केही कुरा टेरेनन्, सती मात्रै हेरे शिव अरु केही हेरेनन्
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, महादेवको रिस कस्तो सबैले चिने, साँढे चढी हिड्ने शिव सती बोकी हिँडे,
चारैदिशा घुम्न थाले आँसु झारीझारी, त्यस्तो देखि सबै भन्छन् कसो गर्ने हरी,
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, श्रीहरी रुप बदलेर झिङगा बनिगए, महादेवले थाहा नपाई सती पृथ्वीमा झारे
पृथ्वीमा झारेजति शक्ति पीठ भए, शिवजी लाई सम्झाएर कैलास तिर लए
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, उनैसती पार्वती भएर फेरी आईन्, शिवजी लाई पाउँ भनेर ध्यान गर्न लाईन्
ध्यानबाट पार्वतीको चिन्ता सबै गयो, शिव अनि पार्वतीको शुभ विवाह भयो
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, निराकार, निरंजन, निर्गुण, निर्विकार, सत्य शिवम सुन्दररुप हामीलाई पारतार
कहिले हुने किराँतेश्वर कहिले मृगपनि, खोज्दै हिड्थिन गौरी माता कहाँछौ शिव भनी
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, साँढे माथी चढ्ने शिव चारैतिर सर्ने, पृथ्वीमा अशान्ति छ हाम्ले कसो गर्ने
शिव शर्मा, शिव भट्ट रुप थरीथरी, पृथ्वीमा रक्षा गर्न आउन शिव हरी
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, कैलास मात्रै नभएर पृथ्वीमा झर, कैलास जस्तै पृथ्वीलाई झलमल गर
शान्ति अनि समृद्धिको विगुल फुक्दै आए, कस्तो हुन्थ्यो पृथ्वीमा शान्ति देख्न पाए
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।
हे, दाजुभाईमा युद्ध हुने अशान्ति भो अति, महँगीले सिमा काट्यो काँछौ पशुपति
विकृति र विसंगती विश्वभरी भयो, सत्य बोल्ने सत्य गर्ने चलन कता गयो
मलाई तिम्रै कैलासमा लैजाउन शिव, मलाई तिम्रै कैलाशमा लैजाउन शिव … ।