विपन्न परिवारलाई स्वास्थ्य विमामा जोडेको छु : वडा अध्यक्ष जोगीराम थारु, गुनपा १
- आइतबार बैशाख १० , २०८०
चुरेकुञ्जले ‘जनताको प्रश्न जनप्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेस तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका बाचा, अहिले सम्म गरेका गतिविधि, बिकासको चुनौती एवम् आगामी कार्य योजना जनता सामु छर्लङग पार्ने सञ्चार कर्मको दायित्व सम्झेर सबै प्रतिनिधिलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ, गुलरिया नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष जोगीराम थारुसँग पत्रकार मुरली गोडीयाले गरेको कुराकानी जस्ताको तस्तै :
तपाईले भोट माग्दा जनतासंग गरेका बाचाहरु केके हुन ?
मैले बाचा गरेका कुराहरु बाटो घाटोको समस्या, गरिबीको रेखामुनी रहेका सुकुम्बासीहरुको समस्या, मुक्तकमैयाहरुका समस्या जस्ता कुराहरु रहेका छन् । मैले आफुले सक्दो आफनो अधिकार क्षेत्रभित्र रहेका नागरिकसंग जोडिएका समस्याहरुलाई समाधान गर्न नागरिकसंग बाचा गरेको छु । मेरो वडामा रहेका विपन्न सिमान्तकृत परिवारलाई विशेष कार्यक्रम मार्फत कार्य गर्ने सोंच बनाएको छु । मैले मेरो कामहरु मेरो अधिकार भित्र रहेर नागरिकको सेवाको लागी गरेको छु । वडामा भएको गरिब निमुखा तथा रोगीहरुको लागी स्वास्थ्य विमा जस्तो कार्यक्रममा जोडेको छु । नियमित औषधी सेवन गर्नेहरुले नियमित औषधी पनि खाइ रहनु भएको छ ।
निर्वाचन जितेर आएपछि वडामा केके काम गर्नुभयो ?
हाम्रो वडामा बाटोघाटो नभएको स्थानमा कच्ची बाटो बनाउने, ग्राभेल बाटो बनाउने कार्य हुँदैछ । गरिबी निवारणका लागी वडाबासीलाई विभिन्न तालिमहरु संचालन भइरहेको छ । वडामा नागरिकको जिवनस्तर सुधार गर्न रोजगार मुलक कार्यक्रम, सिलाई कटाई तालिम लगायत कार्यक्रमहरु गरेको छु । कतिपय कार्यहरु भइरहेका छन । कतिपय सुरुवात हुँदैछन भने कतिपय कामहरु सम्पन्न भएका छन् । वेरोजगारहरुलाई विभिन्न सिपमुलक तालिमहरुमा जोडेको छु । भने महिला दिदीबहिनीहरुलाई आयआर्जनमा जोड्ने कार्य गरेको छु । मैले मेरो वडामा १ सय जनाको स्वास्थ्य विमा गरिदिएको छु । वडामा गरिबी निवारणका लागी नयाँ तरिकाले कार्य गर्ने सोंच बनाउँदैछु ।
वडाको बिकासमा मुख्य चुनौती के छन् ?
चुनौती त अब बाटोघाटो निर्माण देखिएका छन । पुरानो बाटोहरु नयाँ संरचना अनुसार जानु परेको छ । गरिब बस्तीमा साना साना घरहरु निर्माण भएका छन मेरो वडा सिमावर्ति क्षेत्रमा पर्छ जस्ले गर्दा बाटो चौडा गर्नुपर्ने अहिलेको नगरपालिकाको मापदण्ड अनुसार जानु पर्दा कतिपय गरिब परिवारलाई विभिन्न समस्याहरु छन । विवादहरु आइराखेका छन । यस्ता चुनौतीहरु देखिएका छन । वहाँहरु संग सहकार्य गरेर चुनौतीहरु पारगर्दै कार्य गरिदै आएको छ । विभिन्न राजनितीक दलहरु संग पनि समन्वय गर्दै आएको छु । नगरप्रमुख ज्युले पनि साथ दिनु भएको छ । मेयर सावले लगभग डेढ करोड बजेट हाल्दिनु भएको छ । सवै संग साथ र समन्वय गर्दै अघि बढ्दै छु ।
जनताले चाहे जति काम गरे जस्तो लाग्छ ?
नाई एकदम मैले महसुस गरेको छु । अहिले सम्म अध्यक्ष ज्युले यस्तो उस्तो गर्नु भो भन्ने गुनासो आएको छैन । म विहान १० बजे देखी ५ बजे सम्म वडा कार्यालयमै हुन्छु । अहिले सम्म सेवाग्राही बाट गुनासो आएको छैन । सेवाग्राहीले कुनैपनि किसिमको समस्या भोग्न नपरोस र गर्न लागेको काम समयमै पुरा होस त्यसका लागी मै आफै कार्यालयमा हरदम खटेको छु । अहिले सम्म कुनै गुनासो सुन्न परेको छैन । मैले सेवाग्राहीले चाहे जस्तो कार्य गरेको जस्तो लागेको छ ।
तपाईका अगामी बाचा प्रतिबद्धताहरु के हुन् ?
आगामी बाचाहरु यहाँका बाटो घाटोहरु समयमै गुणस्तिरय निर्माण गर्ने, बेरोजगारी निराकरण गर्ने, बाख्रापालन भैंसी पालन विभिन्न व्यवसायहरु, कुखुरापालन यी व्यवसायहरुलाई व्यवस्थित गराई निरन्तरता दिने । आगामी दिनहरुमा नागरिकको साथ र सहयोगले अघि बढ्ने । अगामी दिनमा वडाको बजेट क्षमता अनुसार कार्य गर्ने हो । त्यसमा पनि प्रदेश तथा संघिय सरकार संग पनि समयन्वय गर्दै सेवागर्ने लक्ष्य लिएको छु । आउने दिनमा जुन वडा बासीलाई जुन विस्वास गरेर जिताउनु भएको छ । म त्यो कार्यमा लाग्ने छु । म कहिल्यै पनि निराशा हुन दिन्न भन्ने संकल्प लिएको छु । मैले कहाँ सम्म गर्न सक्छु । त्यो आगामी कार्यले देखाउने छ । मलाई जुन २ शब्द राख्न दिनु भएकोमा चुरेकुञ्जलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यस्तो कुराहरु हाम्रो कुराहरुलाई स्थान दिंदै जानु होला । धन्यवाद ।