fbpx

बगलामुखी मन्दिरका अध्यक्ष स्वर्गिय खेटराज उपाध्यायको स्मरणमा श्रद्धाञ्जली सभा

बगलामुखी मन्दिरका अध्यक्ष स्वर्गिय खेटराज उपाध्यायको स्मरणमा श्रद्धाञ्जली सभा


चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ मा अवस्थित बगलामुखी मंदिरका अध्यक्ष स्वर्गिय खेटराज उपाध्याय पोखरेलको शुद्धशान्ती तिथीको अवसर पारेर बगलामुखी मंदिर ब्यवस्थापन समितिले श्रद्धाञ्जली सभा गरेको छ । समितिका अग्रज सदस्य दिनानाथ बख्रेलको अध्यक्षतामा श्रद्धाञ्जली सभा गरिएको हो ।

सिन्धुली जिल्लाको खुर्कोटमा विक्रम सम्बत् १९९३ साल चैत्र २४ गते जन्मनु भएका उपाध्याय ०३८ सालदेखि निरन्तर बगलामुखी मंन्दिर ब्यवस्थापन समितिको अध्यक्ष पदमा रही मंदिर प्रर्बद्धनका लागि अहोरात्र खटिनु भएको थियो । उहाँको २०७९ साल चैत्र २५ गते ८७ बर्षको उमेरमा निधन भएको हो । समाजसेवी अध्यक्ष उपाध्यायको निधनले अभिभावक गुमाएको महसुस श्रद्धाञ्जलीका क्रममा ब्यक्त गरिएको छ । १९९१ सालमा निर्मित बगलामुखी मन्दिर जिर्णोद्वार एवम् पुर्ननिर्माण, मन्दिरको जग्गा प्राप्ती लगायत विभिन्न धार्मिक एवम् सामाजिक कार्यमा स्वर्गिय उपाध्यायको उल्लेखनिय भूमिकाका बारेमा श्रद्धाञ्जलीका क्रममा वक्ताहरुले स्मरण गरेका थिए । सभामा स्वर्गिय उपाध्याय दम्पतीको सम्झनामा एक मिनट मौन धारणगर्दै पुष्पार्पण गरिएको थियो ।

स्वर्गिय उपाध्याय लोकतान्त्रिक आन्दोलनका योद्धा हुनुहुन्थ्यो । श्रद्धाञ्जली सभा भावपूर्ण बनेको थियो । बक्ताहरुले श्रद्धाश्रुझार्दै स्वर्गिय उपाध्ययका योगदानका बारेमा चर्चागर्दै अमर आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तीसँगै परिवारमा गहिरो समवेदना ब्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा अजीत कुमार शर्मा, वरिष्ठ पत्रकार एवम् स्वर्गिय उपाध्यायका कान्छी छोरी ज्वाई पुरुषोत्तम दाहाल, गोविन्द पोखरेल, दिनेश श्रेष्ठ, टिका अधिकारी, निर्मला मैनाली, श्रीधर गौतम, वासुदेव चौधरी, कृष्णप्रसाद बस्याल, यादव आचार्य लगायतले स्वर्गिय उपाध्ययको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

स्वर्गिय उपाध्यायकी धर्मपत्नी दुर्गादेवी उपाध्यायको तिन बर्ष अघि निधन भएको हो । उपाध्यायका गणेश, सुनिल, प्रमोद राजपोखरेल ३ छोरा, तिन बुहारी, सुधा, शान्ता दुई छोरी र नाति, नातिनी हुनुहुन्छ । उहाँको निधनले धार्मिक तथा सामाजिक क्षेत्रमा अपुरणीय क्षती भएको छ । श्रद्धाञ्जली सभामा मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, परिवारका सदस्य, स्थानिय टोलवासीहरु लगायत शुभेच्छुकहरु सहभागी थिए । बगलामुखी मंदिरका पुजारी डिल्ली प्रसाद उपाध्यायले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाइको मत