लक्ष्यदीप महिला सहकारीले गर्यो वित्तिय साक्षरता तालिम
- मंगलबार बैशाख ५ , २०८०
विन्दु चौधरी, बाँसगढी । लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बाँसगढीले तीन दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक तथा शेयर सदस्यहरुका लागि सञ्चालित तालिममा सहकारीमा वित्तीय साक्षरताको महत्व लगायतका विषयमा जानकारी गराइएको हो ।
आईतबारदेखि मंगलबार सम्म संचालित ३ दिने तालिममा सहकारीको परिचय, ईतिहास, सहकारीको मुल्यमान्यता, सिद्धान्त, ऐन नियम विनियम, कोष बाँडफाँट लगायतका विषयमा डिभिजन सहकारी कार्यालय बर्दियाका पुर्व प्रमुख तथा अडिटर शिवकुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो । उहाँले तालिममा सहजीकरणगर्दै सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि शेयर सदस्यहरुलाई सहकारी सचेतना आवश्यक रहेको बताउनुभयो । सहकारीहरुले वित्तीय साक्षरताका विषयमा सदस्यहरुलाई जानकारी गराउन सकेमा सदस्यहरुलाई आयआर्जन बढाउन तथा खर्च घटाएर बढी वचत गर्ने बानीको विकास गर्न सकिने अधिकारीको भनाइ थियो ।
सदस्य लगायत आम समुदायलाई चाहना र आवश्यकताको पहिचान गराउने गरी वित्तीय साक्षरता, सदस्यहरुको काम कर्तव्य र अधिकार लगायतका विषयमा सबै सहकारीले जानकारी गराउनु पर्नेमा उहाँको जोड छ । सहकारीका सदस्यहरुलाई स्थानीय स्रोतको अधिकतम परिचालनमार्फत आयआर्जन बढाउन, खर्च घटाउन तथा नियमित वचत गर्न प्रेरित गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष सरला कुमारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बाँसगढी नगरपालिका वाड नं ५ का वडासदस्य प्रकाश बराल, बाँसगढी नगरपालिका सहकारी शाखाका प्रमुख हिक्मत माँझी, लगायतले सहकारीका सदस्यहरुलाई प्रदान गरिने सहकारी शिक्षाले संस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा ५५ जना सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सस्थाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सस्थाका ब्यवस्थापक शान्ता सुवेदीले गर्नुभएको थियो ।