बाँसगढीमा कम्प्युटर बिषय विस्थापित गरेकोभन्दै ध्यानाकर्षण
- आइतबार बैशाख ३ , २०८०
विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाले कम्प्यूटर विषयलाई विस्थापित गरेकोभन्दै बाँसगढी युवा मन्चको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बाँसगढी युवा मन्चले एक प्रेस विज्ञप्ती निकालेर आजको आईसिटिको समयमा बाँसगढी नगरपालिकाले कम्प्यूटर विषयलाई विस्थापित गरेको भन्दै बाँसगढी युवा मन्चको गम्भिर ध्यानाकर्षण भएको हो ।
पालिकाको उक्त कार्य प्रति ध्यानाकर्षण भएको मन्चका अध्यक्ष सन्तोष बास्तोलाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ । कक्षा १ देखि ५ सम्म स्थानिय पाठ्यक्रम मेरो बाँसगढी राखेर कक्षा ६ भन्दा माथिका कक्षाहरुमा कम्प्यूटर विषय राख्दा बैज्ञानिक हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा हो, प्रेस विज्ञप्तीमा भनिएको छ । प्रविधियुक्त शिक्षालाई बढ्वा दिदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनु आजको आवश्यकता हो ।
प्रतिभावान यूवाहरुको रोजीरोटी गुम्नेगरी बाँसगढी नगर कार्यपालिकाको मिती २०७९ चैत्र २१ गते बसेको बैठ्कले मिती २०८० बैशाख १ गतेदेखि २३ जना शिक्षकहरुलाई हाजिर नगराउने निर्णय गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालको संविधानले समेत रोजगारीको हक सुनिश्चितता गरेकोले ती शिक्षकहरु प्रति देखाएको अमानविय, अप्राकृतिक ब्यवहारलाई सच्याउदै निजहरुको रोजगारीलाई निरन्तरता दिदै पुर्नबहाली गराउन बाँसगढी नगरपालिकासंग युवा मन्चले जोडजार माग गरेको छ ।