बर्दियालाई प्राविधिक शिक्षाको हब बनाउनु पर्छ : संजय गौतम
- बुधबार चैत २९ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दिया १ का प्रतिनिधि सभा सदस्य तथा पूर्व सिचाई मन्त्री संजयकुमार गौतमले सामान्य शिक्षाभन्दा सीपमूलक प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुुुुु भएको छ । बर्दियाको बाँसगढी बहुमुखी क्याम्पसको १४ औँ साधारणसभा तथा छैठौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सांसद गौतमले शिक्षा भनेको सिक्ने, बिक्ने र टिक्ने हुुनुपर्ने भएकाले उत्कृष्ट शैक्षिक संस्थाहरू स्थापना गरी विद्यार्थीलाई सीपमूलक शिक्षा दिनुपर्ने बताउनु भएको छ ।
बर्दिया जिल्लामा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त करिव १० वटा सामुदायिक क्याम्पस रहेकोले सरकारको सहकार्यमा मात्रै शिक्षामा गुणस्तर सुधार्न सकिने उहाँको भनाई छ । सरकारले सबैभन्दा बढी शिक्षामै लगानी गरेको बताउनुहुदै उहाँले आगामी दिनमा जिल्लालाई शैक्षिक हब बनाएर बाहिरबाट विद्यार्थी तान्न सकिने बाताबरण बनाउने गरी सरकारले पनि लगानी बढाउनुपर्ने बताउनु भयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष सविन कुमार थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य तथा बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाका अध्यक्ष श्याम ढकाल, संविधान सभा सदस्य निर्मल प्रकास सुवेदी, लुम्विनी प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालयका पुर्व मन्त्री तिलकराम शर्मा (हिमाल), विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतले कार्यक्रममा शुुभकामना मन्तब्य राख्नु भएको छ । कार्यक्रममा उपस्थित प्रमुख, विशिष्ट तथा अतिथिहरुले क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
क्याम्पसको आर्थिक, सामाजिक, शैक्षिक तथा भौतिक प्रतिवेदन पेशगर्दै क्याम्पस अध्यक्ष थापाले क्याम्पसको सुनिश्चित भविष्यका लागि सबैले सोच्नुपर्ने बताउनु भयो । उहाँले बाँसगढी बहुमुखी क्याम्पसमा अधिंकास निम्न आय भएका विद्यार्थीहरुले अध्ययन गर्ने भएकाले पर्याप्त छात्रवृत्तिको ब्यवस्था गरी न्यूनतम शुल्कमा अध्ययन गराउन सके विपन्न वर्गका विद्यार्थीहरु लाभान्वित हुनसक्ने प्रष्ट्याउनु भयो । क्याम्पसका विद्यार्थी करिव ७० प्रतिशत छात्रा र ३० प्रतिशत छात्र मध्ये ६० प्रतिशत विद्यार्थी जनजाती (थारु) रहेको जानकारी गराउनु भएको छ ।
साथै उहाँले समुदाय, स्थानिय, प्रदेश, संघिय सरकार र विश्वविद्यालय अनुदान आयोग लगाएतको संयूक्त सहयोगमा क्याम्पसले भौतिक, शैक्षिक र आर्थिक पक्ष सवल बनाएको भन्दै आगामी दिनमा पनि क्याम्पसको विकास र स्तरोन्नतिका लागि सबैजना एकजुट हुनुपर्ने बताउनु भएको छ । विंस. २०६५ सालमा त्रिभुवन विश्वविद्यालयले क्याम्पस संचालन अनुमति दिएपछि हाल क्याम्पसमा वि.एड र वि.वि.एस. सङ्काय अन्तरगतका विषयहरु संचालनमा रहेका छन् । कार्यक्रममा ३ सय ४८ जना आजीवन सदस्य र १ सय ४४ जना साधारण सदस्यलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको संचालन क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजालले गर्नुभएको थियो भने स्वागत क्याम्पस संचालक समितीका उपाध्यक्ष लालबहादुर क्षेत्रीले गर्नुभएको थियो ।