fbpx

खाद्य कम्पनी लिमिटेड राजापुरले तोक्यो किसानको गहुँको मुल्य

खाद्य कम्पनी लिमिटेड राजापुरले तोक्यो किसानको गहुँको मुल्य


पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ खरिद सुचना निकालेको छ । भौरा क्षेत्रमा धेरै किसानले गहुँ खेती गरेको र त्यसको उचित मूल्य दिने भन्दै सरकारले करिब २ महिना पहिले नै निर्धारण गरेको मूल्यमा गहुँ खरिद गर्ने सूचना सार्वजानिक गरेको हो ।

कम्पनीले चैत्र २६ गतेदेखि प्रतिकुन्टल ३ हजार ३ सय ५१ रुपैयाँमा गहुँ खरिद गर्न काँटा लगाएको छ । खाद्यले खरिद गर्ने गहुँमा अकरा नभएको, गहुँको दाना एकनास हुनुपर्ने र विक्रेता किसानले नागरिकता, लाइसेन्स वा लालपुर्जा मध्ये कुनै एक कागजात ल्याउनु पर्ने मुख्य शाखाका प्रमुख धर्मराज पन्तले बताउनु भयो । कार्यालयका प्रमुख पन्तले खाद्यमा गहुँ बेच्ने किसानले तोकिएको मूल्यमा पल्लेदारी लगायतका कुनै खर्च नकाटिने किसानले पुरा मूल्य हातैमा पाउने पनि जानकारी दिनु भयो ।

खाद्यले खरिदका लागि टाँस गरेको मूल्यभन्दा बजारमा करिब ३ सय रुपैयाँ बढी मूल्य रहेको राजापुर नगरपालिका वडा नं. ५ का किसान बुद्धिराम थारुले वताउनु भयो । राजापुरमा खाद्यान्नको कारोवार गर्ने स्थानीय व्यापारीले २ हप्ता अघि ४ हजारमा गहुँ खरिद गरेको र आज भोलि प्रतिकुन्टल ३ हजार ७ सय सम्ममा गहुँ खरिद गर्ने गरेको व्यापारीहरुको भनाई छ । राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा राजापुरमा १० हजार कुन्टल गहुँ खरिदको लक्ष्य रहेको छ ।

तपाइको मत