बर्दियामा देखिन छाडे, सालक संरक्षणमा बेवास्था
- सोमबार चैत २७ , २०७९
दीपकलाल श्रेष्ठ, बर्दिया । सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न बन्यजन्तुको सूचीमा राखेको छ । सालकको बिगतका दशक बर्दियामा देखिने सालक राज्यको बेवास्थाका कारण देखिन छाडेका छन् ।
पहिले सालक देखिए पनि हाल बर्दियामा सालक देखिन छाडेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रवीण बिडारीले जानकारी दिनुभयो । बर्दियामा सालक सम्बन्धि अध्ययन पनि गरिएको छैन । बर्दियामा सात बर्ष पहिले सालक देखिएको तथ्याङ्क छ । तर अचेल सालक कहि नदेखिएको अधिकृत बिडारीको भनाई छ । लजालु र कसैलाई नोक्सानी नपुर्याउने सोझो वन्यजन्तु मानिन्छ सालक । चोरि सिकारी वासस्थान विनासका कारण लोपोन्मुख अवस्थामा पुगेको स्तनधारी जीवलाई जोगाउन विश्वभरि चिन्ताको बिषय छ ।
एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन् । तर, प्रत्येक दिन संसारभर ३०० वटा सालक मारिने अनुमान छ विडारीले प्रष्ट्याउनु भयो । नेपालमा कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ । तीमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचीमा पर्छ । नेपालमा पाइने स्तनधारी मध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो । बर्दियामा ७ बर्ष अघि साबिक मधुवन नगरपालिका ७ गंगाबस्तीमा डिभिजन वन कार्यालय बर्दियाले एक सालक उद्धार गरेको थियो ।
उद्धार गरिएको सालक बर्दिया राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताउनु हुन्छ । वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको तथ्यांक सार्वजनिक गरेका छन् । सालक एकदमै कम देखिने स्तनधारी वन्यजन्तु हो । बर्दिया राष्ट्रिय निकुञ्जमा सालक एकदमै कम देखिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।
“नेपालमा कालो सालक र तामे सालक मात्र पाइने गरेको छ, सालकलाई संकटापन्न सूचीमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा यकिन तथ्याङ्क नरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीका संरक्षण अधिकृत डा. रविन कडरियाले बताउनु भएको छ । सालक जमिन खनेर माटो भित्र बास बस्ने गर्छ । रातको समयमा आहारका लागि बाहिर आउने गरेको हुनाले स्थानीयले अलि कमै देखिने गरेको समेत उहाँको भनाई छ । बर्दियामा सालक तथ्याङ्क र अध्ययन नगरिएकोले बर्दियामा सालक को अवस्था ठ्याक्कै यो रहेको भनेर भन्न नसकिने अवस्था छ ।
सालक विषेशगरी भारत, चीनलगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्णभूभागमा पाइन्छ । सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु समेत खाएर नियन्त्रण गर्दछ । सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ । सालक विश्व मै बढी चोरी सिकार हुने प्रजाती मध्येको एक हो । सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवाना सहित दण्ड सजाय हुने प्रावधान छ ।