गेरुवाको पथरैयामा आगलागी, ३४ लाखको धनमाल क्षती
- आइतबार चैत २६ , २०७९
पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ५ पथरैयामा आगलागी भएको छ । दिउँसो अन्दाजी करिब २ बजेतिर एक्कासी आगलागी भएको हो ।
नमन शाहीको घरमा लागेको आगोले लाक्षुमाया बम, बल बम, नकब बम र पदम बमको घरमा क्षति पुगेको इलाका प्रहरी कार्यलय पाताभारका प्रहरी निरीक्षक नवराज सुनारले बताउनु भयो । खेतमा गहुँ काट्न गएका वेलामा शाहीको घरमा विजुलीको तार सर्ट भएर आगो फैलिएर ठूलो क्षति भएको प्रहरी निरीक्षक सुनारको भनाई छ । गेरुवा गाउँपालिकामा दमकल नभएको र सबै गाउँले खेतमा काम गर्न गएकाले राजापुर नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय पाताभारका सुरक्षाकर्मी र स्थानीय भएर आगो नियन्त्रणमा लिईएको थियो ।
आगलागीबाट मानवीय र पशुजन्य क्षति नभए पनि ४ वटा घरको खाद्यान्न, लत्ता कपडा, गरगहना गरी करिब ३४ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्रहरीले संकलन गरेको छ । सुख्खा मौषम भएकाले आगलागीको उच्च जोखिम हुने भन्दै प्रहरी निरीक्षक सुनारले घरमा रहने अतिप्रज्जवलनशील पदार्थहरु सुरक्षित राख्न सम्पूर्ण गेरुवावासीलाई आग्रह गर्नु भएको छ ।