राजापुर–गेरुवाका कुलापानी पदाधिकारीहरुलाई तालिम
- आइतबार चैत २६ , २०७९
पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको भौराक्षेत्रका कुलापानी चौधरी तथा पदाधिकारीहरुलाई एकदिने तालिम दिईएको छ । भौरा क्षेत्रमा सिँचाई सुविधालाई व्यवस्थित गर्न र कुला पानी समितिलाई दर्ता गरि व्यवस्थित गर्न जल उपभोक्ता संस्थाको एक दिने तालिम दिएको हो ।
संयुक्त बुढीकुला जल उपभोक्त समिति गोला पाताभारका चौधरी सोमप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबै कुलापानीलाई व्यवस्थित गर्न र राजापुर सिचाई आयोजनाको दोस्रो फेज सञ्चालन हुनु भन्दा पहिला राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बुढीकुलामा रहेका शाखा कुलाका चौधरीहरुसँगै मनाउ, मानपुर टपरा खैरीचन्दनपुर कुलाका चौधरी, अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए । कार्यक्रममा राजापुर सिँचाई व्यवस्थापन कार्यालयका निमित्त प्रमुख इन्जिनियर मुकेश कुमार ठाकुरले सहभागीहरु माझ जल उपभोक्ता समिति गठन, विधान निर्माण दर्ता र बैठक सम्बन्धी जानकारी दिनु भएको थियो ।
जल उपभोक्ता समितिले गर्ने व्यवस्थापकीय पक्षका बारेमा राजापुर सिँचाई व्यवस्थापन कार्यालयका नायबसुब्बा हरिश तिरुवाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिँचाई सेवा शूल्क संकलनको आवश्यकता र महत्वका बारेमा लेखापाल पूर्ण बहादुर चौधरीले सहजीकरण गर्नु भएको थियो । सरकारले कुलापानीमा लगानी गर्नका लागी पनि सिँचाई नीति अनुसार गठन र नवीकरण हुनु पर्ने सहजीकरणकर्ताहरुले वताएका थिए । अधिकांश शाखाकुलाहरु अझै दर्ता नभएकाले व्यवस्थापकीय पक्षमा समस्या भएकाले जतिसक्दो चाँडो दर्ता पक्रियामा जानका लागि सहभागीहरुलाई आग्रह गरिएको थियो । कार्यक्रममा सहभागी मानपुर टपरा जलउपभोक्ता समितिका अध्यक्ष टीकाराम थारु र खैरी चन्दनपुर जलउपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर थापाले राजापुर सिचाई व्यवस्थापन कार्यालयले मनाउ, मानपुरटपरा र खैरीचन्दनपुर कुलालाई पनि व्यवस्थित गर्न पहल गर्नु पर्ने वताउनु भएको छ ।
दोस्रो चरणको कार्यक्रम लागु हुने क्रममा रहेकाले सम्पूर्ण सिँचाई हुने दुबै पालिकाको मुहान एकै हुने गरी कार्यक्रम दाता समक्ष पठाउन पनि राजापुर सिँचाई व्यवस्थापन कार्यालयका सहजकर्तालाई आग्रह गर्नु भएको थियो । जल उपभोक्ता समितिका पदाधिकारीहरुलाई समग्र रुपमा व्यवस्थापन पक्षको क्षमता विकास गर्न सहज कार्यक्रमले हुने भन्दै मूल चौधरी तथा सभाध्यक्ष थारुले कार्यक्रम समापन गर्नु भएको थियो । गेरुवा गाउँपालिका गाउँपालिकाको वडा नं. १ ओखरीयामा आयोजित जल उपभोक्ता संस्थाको एक दिने तालिममा १७ वटा शाखाका ५३ जनाको सहभागिता रहेको थियो । आउने बर्ष कुलापानीका लागि बजेट घटेर आउने बताईएको छ ।