वेलायतबाट प्राप्त क्रिकेट सामाग्री हस्तान्तरण
- आइतबार बैशाख १२ , २०७८
चुरेकुञ्ज, गुलरिया । वेलायती क्रिकेट काइन्डनेश प्रोजेक्ट प्रमुख तमारा लोवेले पठाएको क्रिकेट सामाग्री एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । नेपाल क्रिकेट संघ लुम्विनी प्रदेसका सदस्य एवम् जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीको प्रमुख आतिथ्यतामा आईतवार खेल सामाग्री हस्तान्तरण गरिएको हो ।

बर्दिया उन्मुख युवा समाजका अध्यक्ष हिमान्सु पोखरेलले सामाग्री सहयोगका लागि ईमेल मार्फत वेलायती प्रोजेक्टमा प्रस्ताव पेश गरेपछि सामाग्री बर्दिया ल्याईएको थियो । ब्याड, बल, प्याड लगायत क्रिकेट खेलका लागि आवस्यक सामाग्री सहितको ब्याग प्रोजेक्टले संस्थालाई सहयोग उपलब्ध गराएको छ । युवा समाजमा आवद्ध क्रिकेट खेलाडीहरुलाई समाग्री हस्तान्तरण गरिएको छ ।

बर्दिया जिल्ला क्रिकेटमा अब्बलबन्दै गैरहेको कार्यक्रमका प्रमुख अतिथी विनय राजभण्डारीले बताए । पछिल्लो समय कोभिडका कारण क्रिकेट खेलमा केही कमी आएको उनको भनाई छ । बर्दियामा महिला क्रिकेट खेलाडीहरुको अवस्था राम्रो रहेकाले खेलमा महिलाहरुको सहभागीता बढाउनुपर्नेमा राजभण्डारीले जोड दिए । युवा समाजमा आवद्ध खेलाडीहरुलाई आउँदा जिल्ला, प्रदेस लगायत राष्ट्रिय क्रिकेट खेलहहरुमा अवसर दिने उनको प्रतिवद्धता छ ।

नेपाली क्रिकेट खेलाडीहरुलाई पत्रको भरमा क्रिकेट सामाग्री उपलब्ध गराएकोमा क्रिकेट प्रोजेक्ट वेलायतकी प्रमुख तमारा लोवेलाई संस्थाका अध्यक्ष हिमांसु पोखरेलले धन्यवाद दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णु तिमिल्सिना, उद्योग वाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे लगायत समाजसेवी शुभाष कुमार पोखरेलले क्रिकेट खेलाडी तथा संस्थाको प्रर्बद्धनमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
