तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय पीस म्याराथन
- बुधबार चैत २२ , २०७९
बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन–२०२३ को आयोजना हुने भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै बिहीबार प्रतियोगिताको आयोजना गरिने जानकारी दिइएको हो ।
बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २०७ राष्ट्रकालाई निमन्त्रणा गरिएको बताए । कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ति दीपमा आएर समापन हुने छ । प्रतियोगितामा विभिन्न देशका कम्तीमा ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशि प्रदान गरिने लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए। यसैगरी उत्कृष्ट १० औँ स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको रातोपाटीमा खबर छ ।