“सफल आमा बनिन् तारा”
- सोमबार चैत १३ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ कर्मलाकी तारा कुमारी चौधरीको बोली भाषामा निकै परिवर्तन आएको छ । दुई सन्तानकी आमा रहेकी चौधरी आफनो पहिलो बच्चालाई चाहिने जति स्याहार सुसार तथा आवश्यक व्यवहार गर्न जानिनन् । किनकी उनलाई बच्चा गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्मको अवधि सम्म कस्तो किसिमको व्यवहार गर्नु पर्छ भन्ने विषयमा त्यति थाहै थिएन ।
प्लान इन्टरनेशनल नेपाल, थारु महिला उत्थान केन्द्र र ठाकुरबाबा नगरपालिकाको संयुक्त साझेदारीमा संचालित बालबालिकाको सपना परियोजना गाँउमै पुगेपछि तारा चौधरी जस्तै थुप्रै आमाको बाल बच्चालाई गर्ने दैनिकी व्यवहार नै परिवर्तन भएको छ । बालबालिकाको शारिरिक तथा मानसिक विकास संग लक्षित कार्यक्रममा सहभागी भएपछि अहिले ताराले बच्चालाई राम्ररी हुर्काउन सिकेकी छिन । उनि भन्छिन “पहिलो सन्तान पेटमा हुँदा वा जन्मे पछि कसरी हुर्काउने, कस्तो खानेकुरा बढी मात्रामा खुवाउने लगायतका बारेमा थाहा नपाएर बच्चालाई ध्यान दिन नसक्दा केही कमजोर छ ।” उनि थप्छिन “बालबालिकाको सपना परियोजनाले आमाहरुलाई गाँउमा भेला गरेर सवै कुरा सिकाएपछि दोस्रो बच्चा हृष्टपुष्ट छ” ।
परियोजनाको प्रभावले तारालाई प्रारम्भिक बाल विकास बारे जानकारी, बच्चा संग कसरी बोल्ने, बच्चालाई कसरी सर्वाङ्गिण विकास गर्न सकिन्छ भन्ने सम्पुर्ण जानकारी छ । सुत्केरी अवस्थामा खासै ख्याल गर्न नजानेकी तारा अहिले गाँउमा अन्य गर्भवति महिलालाई जानकारी समेत दिने गरेकी छिन । उनी भन्छिन “स्वास्थ्य चेकजाँच, पोषिलो खानपिन, तथा शरिरिक सरसफाई बारे सचेत भएको छु” । कुनै बेला परिचय दिन समेत लजाउने, डर मान्ने तारा आज भोली गाँउका भेला एवं बैठकहरुमा सहजै खुलेर बोल्न सक्छिन् । बालबालिकाको सपना परियोजनाले कर्मला गाँउको महिलाहरुको बोली भाषा, व्यवहार तथा आमाहरु मार्फत घरका बालबालिकाको व्यवहारमा समेत परिवर्तन आएको छ । तारालाई गाँउका वरिपरि गाँउका समेत चिनेका छन । उनले घरमा श्रीमान तथा अन्य सदस्यबाट समेत राम्रो साथ पाएकी छिन ।
बच्चालाई विहानै देखी गर्नुपर्ने सम्पुर्ण कार्य उनी आफै गर्छिन, बच्चालाई स्कुल जानका लागी तयार गरिदिने तथा असल अभिभावकको जिम्मेवारी उनका घरका अन्य सदस्यले समेत भुमिका निर्वाह गरेका छन । बाहिरी बजारका खाने कुरा खानु हुँदैन भनेर ताराले राम्ररी परियोजना बाटै सिकेको सुनाउँछिन । गाँउमा प्रत्येक १५ दिनमा नवविवाहित आमा, हजुरवुवा आमा तथा ३ वर्ष मुनिका आमा बुवाहरुको भेला हुन्छ । जहाँ बच्चा गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्ममा आमा बुवाले कसरी आफुलाई व्यवस्थापन गर्ने र बालिबालिकाको सर्वङ्गिण विकासका लागी के के गर्नुपर्छ भन्ने विषयमा छलफल हुने गरेको छ । उक्त छलफलमा ताराको पनि सहभागीता रहने गर्छ । बालबालिकाको सपना परियोजनाले सिकाएका सवै कुराहरु उक्त बैठकमा वृहत छलफल हुने गरेको छ ।
पहिले पहिले बच्चाका अगाडी कस्तो शब्द प्रयोग गर्ने, के कुराहरु किन्न पसलमा पठाउने, कति बेला के खानेकुरा दिने, के खाने नखाने जस्ता सम्पुर्ण कुराहरु ताराले ध्यान दिन थालेको हेर्दा गाँउमा उनलाई हेर्ने दृष्टिकोण नै सवैको परिवर्तन भएको छ । परियोजनाले उक्त क्षेत्रमा विगत ३ वर्ष देखी कार्य गर्दै आइरहेको बालबालिकाको सपना परियोजनाका संयोजक विनय कुमार थारुले जानकारी दिए । परियोजनाले बालबालिकाको सर्वाङ्गीण विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा गाँउगाँउमा सहजीकरण गर्दै आएको सयोजक थारुले बताए । उक्त परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा कार्यगर्दै आएको उनले जानकारी दिए ।