बढैयाताल अध्यक्षकपको फाईनलमा आयोजक र मधुवन भिड्ने
- आइतबार चैत १२ , २०७९
दलबहादुर सुनार, बढैयाताल । कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा जारी चौथो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा मधुवन नगरपालिका र आयोजक बढैयाताल गाउँपालिका फाईनलमा प्रबेश गरेका छन् ।
मयुर यूवा क्लबको खेल मैदानमा शुक्रवार र शनिवार भएको खेलमा मधुवन नगर पालिकाले बाँसगढी नगरपालिका लाई ३—० गोल अन्तर र बढैयाताल गाउँपालिकाले बारबर्दिया नगरपालिकालाई शुट आउटमा ३—१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन् । शुक्रवारको पहिलो हाफमा बराबरी भएको खेल दोश्रो हाफ शुरु भएको ७ औ मिनेटमा मधुवनका शम्भु थारुले १ गोल गर्दै समुह लाई अग्रता दिलाएका थिए । त्यसै गरि ३४ औं मिनेटमा टिकाराम खड्काले दोश्रो गोल गरेका थिए भने खेल सकिन करिब ५ मिनेट बाँकी हँुदा सुदिप राना मगरले तेश्रो गोल गरेको प्रतियोगिताका मुख्य रेफ्रि बिबेश गुरुङ्गले जानकारी दिए ।
तेश्रो संस्करणमा बिजेता बनेको बाँसगढी नगरपालिका चौथो संस्करणको पालिका अध्यक्ष कपको सेमि फाइनलमा पहिलो हाफमा राम्रो खेल प्रर्दशन गरेता पनि दोश्रो हाफको खेलमा कम्जोर प्रर्दशन गर्दा मधुवन संग पराजित हुन पुगेको हो । मुधवनले फाईनलको यात्रा पक्का गरेको छ । मधुवन पहिलो र दोश्रो संस्करणमा बिजेता बनेको थियो । प्रतियोगितामा मधुवनका जर्सि नं १० का खेलाडी सुदिप राना मगर म्यान अफ दि म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि बांसगढी नगर पालिकाका प्रमुख खड्क बहादुर खड्काले नगद रु १ हजार ५ सय प्रदान गरे ।
दोस्रो हाफमा १/१ गोल बराबरी पछि पेनाल्टी शुट आउटका क्रममा बढैयातालले बारबर्दियालाई पराजित गरेको छ । चैत्र १३ गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । पानी परेपछि खेल तालिका लम्विएको छ । प्रतियोगितामा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ बढैयाताल गाउँ पालिका वडा न. ८ अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको अध्यक्ष कपको सेमि फाईनल खेलको मुख्य रेफ्रिमा बिशेश गुरुङ्ग , सहायक रेफ्रिमा कृष्ण गोपाल चौधरी, सुदिप घर्ति र शिव प्रसाद अधिकारी रहेका छन् । चैत्र १२ गते कर्मचारी र जनप्रतिनिधि बिच मैत्रीपूर्ण खेल हुँदैछ ।