बालबालिकाको बिकासमा परिवारको अहम जिम्मेवारी
- शनिबार चैत ११ , २०७९
विष्णु अधिकारी, बर्दिया । बालबालिकालाई गर्भाअवस्था देखि नै परिवारका अन्य सदस्यले आमाको उचित स्याहार सुसार गरेमा प्रारम्भिक बाल विकास तथा बच्चाहरुको सिकाईमा फड्को मार्न सक्ने अभिभावकहरुले आफ्नो अनुभव सुनाएका छन । बालबालिका र अभिभावकको वीचमा भावनात्मक सम्बन्ध, माया, ममता, सकारात्मक अन्तरक्रिया र प्रोत्साहनले बालबालिकाको सिकाइ एवं विकासमा सहयोग पुग्ने राजापुर नगरपालिका वडा नं. ८, पुरैना गाउँकी ४ बर्षिया आदेश थारुकी आमा २८ बर्षिय रिता चौधरीले बताईन ।
राजापुर नगरपालिका वडा नं. ८ मा प्लान नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्रबाट संचालीत बालबालिकाको सपना परियोजना कार्यक्रम संचालन भएपछि परिवारको सदस्यहरुमा बालबालिकको रेखदेख कसरी गर्ने भन्ने विषयमा परिवर्तन आएको चौधरीले चुरेकुञ्जलाई बताइन । उनले बच्चा आफ्नो गर्भमा छँदा परिवारको सदस्यबाट पाएको सहयोग तथा मायाको वर्णन जति गरेपनि कमहुने भनिरहदा रिताको अनुहारमा खुशी झल्किरहेको थियो । रिताले बच्चा पेटमा हुँदा आफ्नो पतीले नसकेको बेलामा खाना पकाइदिने, आराम गर भन्दै कपडा धोइदिने तथा घरको कामकाजमा हातेमालो गरेको सुनाइन । बच्चा जन्मि सकेपछि पनि काम सकेर आउँदा घुम्न नगई बच्चा खेलाउन समय निकाल्ने, बच्चालाई पोषिलो खानेकुरा बनाएर खुवाउने, घरमा नै खेर गएका बस्तुबाट खेल सामाग्रीहरु निर्माण गरी बच्चालाई दिदा बच्चा खुशी भएर खेल्दा छुट्टै आनन्दको अनुभुति गरेको सुनाइन ।
परिवारका सदस्यहरुको मायामा हुर्केको बच्चाहरु साथीहरुसँग चाडो घुलमिल हुने, सिकाउको कुरा चाँडो सिक्ने र परिवारका अन्य सदस्यहरुका विचमा बच्चा छाडेर जादाँ पनि आफ्नो बुवा सँग छोरा रमाउने गरेको रिताले खुशी हुँदै भनिन । उनले प्रत्येक महिनाको १० गते आमा समुहको भेला हुने गरेको र त्यस्तो भेलामा आमाहरुले बच्चालाई खुवाउने पोषणतत्व, खोप तथा स्वास्थ्य र बालविवाह गर्दा हुने वेफाइदाका विषयमा छलफल गर्ने गरेको चौधरीले बताईन । यसैगरि ठाकुबाबा नगरपालिका वडा नं.–९, ठाकुरद्धारा पश्चिम टोलकी २८ बर्षिय बासमति थारुले छोरा इभान जन्मिए पछि आफ्नो पति तथा घरका सदस्यहरुले खाना खुवाइदिने, कपडा धोइदिने, बच्चाको दिशा पिसाब सफा गरिदिने गरेको बताईन् ।
बासमतिले घरका सदस्यले बच्चाको रेखदेखमा सहयोग गर्ने गरेकाले बच्चा हुर्काउन सजिलो भएकोमा खुशी व्यक्त गरिन । बच्चाले आफुलाई भन्दा पनि आफ्नो बाबुलाई खोज्ने गरेको बताउँछिन । कामको सिलसिलामा आफ्नो पति घरबाट वाहिर गएको सययमा पनि छोरा इभानले बाबु खोज्ने गरेको र प्रत्येक दिन बाबु छोराको भलाकुसारी हुने गरेको बताईन् । बासमतीले आफ्ना बालबालिकाको अगाडी सुर्ति, चुरोट, मादक पदार्थ सेवन गरेमा बालबालिकाको बाल मष्तिस्कमा त्यसको प्रभाव पर्ने भएकाले आफ्ना घरहख सदस्यहरु त्यस कुरामा सचेत रहेको बताईन ।
परिवारका सदस्यहरुका विचमा हुर्केका आफ्नो बालक समाजमा घुलमिल हुनसक्ने, अन्य सदस्यहरुसँग खुलेर वोल्न सक्ने हुनुको साथै विद्यालयमा पनि बच्चाको आनीबानीका विषयमा शिक्षकहरुले प्रोत्साहन गरेकोमा गर्व लाग्ने गरेकोमा खुशी हुँदै आफ्नो भावना साटिन् । उनले बालबालिकाको सपना परियोजनाले बच्चाको लालनपालनमा ल्याएको परिवर्तनले आफ्नो जीवनमा पनि परिवर्तन आएको सुनाईन् । सपना परियोजनाले बालबालिकाको सरसफाई, पौष्टिक तत्व जाउलो, लिटो बनाउने तरिका, बच्चासँग अभिभावक कसरी प्रस्तुत हुने, कस्तो व्यवहार गर्ने, बच्चाले कसरी सिक्छ भन्ने विषयमा आफुहरुले सिकेको अभिभावहरु बताउँछन् ।