भेदभाव अन्त्यगर्दै दलित समुदायको हक अधिकार रक्षा गरौं
- मंगलबार चैत ७ , २०७९
विन्दु चौधरी, बाँसगढी । “संवैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गर्रौ, जातिय भेदभाव विरुद्धको प्रतिरोध गरौं ” भन्ने नारासंगै ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस बर्दियाको बाँसगढीमा मनाइएको छ । बाँसगढी नगरपालिकाको आर्थिक सहयोग तथा दलित सेवा संघ उपशाखा बाँसगढी र परिवर्तन दलित महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मनाईएको दिवसका अवसरमा संविधानमा दलितलाई दिएका हकअधिकार कार्यान्वयनका लागि सरोकारवाला पक्षलाई सचेत पारिएको छ ।
कार्यक्रमका सहभागीहरुले नारा लगाउदै दलित सेवा संघ उपशाखा बाँसगढीको कार्यालय देखि बाँसगढी सामुदायिक पुस्तकालयसम्म प्रभात फेरीको आयोजना गरिएको थियो । प्रभातफेरीपछि आयोजित सभामा सरोकारवालाहरुले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् । दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा दलित सेवा संघका जिल्ला अध्यक्ष कमलराज विश्वकर्माले ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउदा पनि विभेद उन्मूलनका लागि प्रभावकारी काम गर्नुपर्ने बताउनु भएको छ । दलित समुदायका व्यक्तिमाथि अझैपनि कुनै न कुनै रुपको विभेद भइरहेको उहाँको भनाइ छ ।
दलित सेवा संघका केन्द्रिय उपाध्यक्ष भुमि विकले छुवाछुतको मुद्दामा दलित समुदायले खुलेर प्रतिवाद गर्न नसकेको बताउनु भएको छ । बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरीले जातीय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि अझै पनि कतिपय ठाउँमा जातिय भेदभाव तथा छुवाछुतका घटना भइरहेको बताउनुभयो । उहाँले अव यस्ता छुवाछुत तथा जातीय भेदभाव अन्त्यको लागि कानूनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सबै सरकारवालाहरुलाई आग्रह गर्नु भएको छ ।
दलित सेवा संघ, उपशाखा बाँसगढीका अध्यक्ष विनोद कुमार परियारको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा वाड नं ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, भुमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय उपाध्यक्ष भक्त बहादुर विक, सामाजिक अभियन्ता विष्णु परियार शक्ति, सहकारीकर्मी जुना खड्का, लगायत सहभागिहरुले छुवाछुत अन्त्यका लागि कडा कानून बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु भएको छ । साथै अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा दलित समुदायहरुको हकअधिकार उत्थानका लागि योेगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । ०६२।६३ को जन आन्दोलनपछि पुर्नस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको छ ।