खडेरीले भौरा क्षेत्रको चैते धान खेत सुख्खा
- सोमबार चैत ६ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको भौरा क्षेत्रमा सुख्खा परेपछि किसानहरु समस्यामा परेका छन् । चैते धान उत्पादनका लागि निकै महत्वपूर्ण मानिने क्षेत्रमा धान रोपाईको मुखैमा पानी सुकेर किसान समस्यामा परेका हुन् ।
संयुक्त बुढीकुला पाताभार गोला अन्तर्गतका करिब हजारौ विगाहा क्षेत्रफलमा चैते धान रोप्न तयार किसान अहिले विउँ उखाल्दै फ्याक्दै गर्न बाध्य छन् । राजापुर नगरपालिका वडा नं. ५ बदालपुर गाउँका मूल वरघर वेचु चौधरीले कुलापानी समयमै ध्यान दिन नसक्दा किसानलाई ठूलो नोक्सानी पुगेको गुनासो गर्नुभयो । आफ्नो गाउँमा मात्रै व्यक्तिगत र समुहमा करिब ५० विघाभन्दा बढीधान रोप्ने तयारीमा रहेका किसानले रोपेको धान सुक्न थालेको र बिउँसमेत मर्न थालेको बताउनु भयो ।
भौरा क्षेत्रको बुढीकुला नै मुख्य पानीको स्रोत रहेको यो क्षेत्रमा हरेक वर्ष चैते धान रोपाईँ गर्ने किसानको संख्या बढेपनि भरपर्दाे सिंचाई व्यवस्था नहुँदा मेहनत र लगानी दुवै खेर जाने चिन्तामा छौं चैते धान खेती गरेका राजापुर नगरपालिका वडा नं. ३ मुरैयाका किसान प्रेम प्रकाश थारुले वताउनु भयो । वडा नं ५ का किसान तथा कृषि विज्ञ विष्णु भक्त अधिकारीले नेतृत्व अदुरदर्शिताका कारण किसानलाई समस्या परेको वताउनु भयो । कुलापानी समिति नै गैह्र जिम्मेवार हुँदा धान रोप्न तयार रहेका किसानको नोक्सानी भएको दुखेसो गर्नु भयो ।
पानी कुलामा सुक्न थालेपछि कुलो समितिसँग समन्वय गर्दा पनि कुनै समस्या नरहेको भने पछि चैते धानको विउँ छरेको र रोप्ने वेलामा समस्या देखेपछि धान सुपरजोन, प्रशासन नगरपालिका प्रमुख सबैसँग समस्या राख्दा पनि समाधानका लागि पहल नभएको अधिकारीले गुनासो गर्नु भयो । संयुक्त बुढीकुला पाताभार गोला जल उपभोक्ता समितिका चौधरी तथा नयाँगाउँ शाखा अध्यक्ष सोम प्रसाद चौधरीले आफुले समितिको बैठकमा पटकपटक चैतेधान भन्दा पनि वसन्ते मकै खेतीमा लाग्न किसानलाई अनुरोध गर्न शाखाकुलाका चौधरीमार्फत खबर गरेको वताउनु भयो ।
अहिले बुढीकुलाको पानी सबै पश्चिम तर्फको कर्णालीमा गएको र यसलाई तत्कालै समाधान गर्न नसके बर्खामा समेत समस्या आउने सम्भावना रहेको जानकारी गरेपछि प्रमुख जिल्ला अधिकारी, राजापुर सिँचाई व्यवस्थापन आयोजना प्रमुख, डिई, निकुञ्ज प्रमुखसँग स्थलगत निरिक्षण गरि तत्कालै स्काभेटर चलाएर पानी फर्काउन पहल गरिरहेको जानकारी दिनु भयो ।