ठाकुरबाबा नगरपालिकाको महत्वपूर्ण कार्यविधी पास
- शनिबार बैशाख ११ , २०७८
भिमा कंडेल, ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाको शनिबार बसेको कार्यपालिकाको बैठकले महत्वपुर्ण कार्यविधी पास गरेको छ । कार्यविधी स्थानीय राजपत्रमा प्रकाशित भए पछि कार्यान्वयनमा आउने ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता श्यामलाल थारुले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकामा लघु तथा मझौला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरु विक्री गर्न स्थानीय स्तरमा उत्पादित सामाग्रीहरुको संरक्षण प्रर्वद्धन तथा बजारीकरणमा सहयोग गर्न तथा धार्मिक तथा सांस्कृतिक महत्वका वस्तुहरु विक्री गर्दै समग्र पर्यटन उद्योगमा नै टेवा पुर्याउनका लागि ठाकुरबाबा नगरपालिकाको प्रशासकिय कार्यविधी २०७५ को दफा ४ बमोजिम ठाकुरबाबा नगरपालिकाको सौगात पसल “कोसेली घर” सञ्चालन गर्ने कार्यविधी २०७८ पारित गरिएको छ ।
नगरपालिका क्षेत्रभित्र संचालन हुने व्यवसायाहरुको दर्ता, नविकरण, नियमन, खारेजी तथा व्यवसायहरुको वर्गिकरण सम्बन्धी विषयमा प्रकृयागत स्पष्टता ल्याई व्यवसायमैत्री वातावरण निमार्ण गर्न र व्यवसाय करलाई व्यवस्थित एवम प्रभावकारी रुपमा कार्यान्वयन गर्न बाञ्छनीय भएकाले ठाकुरबाबा नगरपालिकाको प्रशासकिय कार्यविधीको ऐन २०७५ को दफा ४ बमोजिम ठाकुरबाबा नगरपालिका व्यवसाय कर सम्बन्धी कार्यविधी २०७८ पारित गर्ने निर्णय भएको जनाइएको छ ।
यसैगरी ठाकुरबाबा नगरपमलिकाको आर्थिक वर्ष २०७७, ०७८ को वार्षिक योजना शव दाह निमार्णको लागि विनियोजित १८ लाख रुपैयाबाट निमार्ण हुने गरी वडा नम्बर ७ भएर बग्ने ओराही खोला किनार कालिगौडीमा र वडा नम्बर ५ भएर बग्ने बबई नदिको किनार चन्दनपुर र सिसवाराको सिमानामा शवदाह २ वटा घाट निर्माणका लागि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय गरिएको वडा अध्यक्ष श्यामलाल थारुले जानकारी दिनुभयो ।