बालबालिकाको बृद्धिबिकासको लागि उचित स्याहार आवस्यक
- शनिबार चैत ४ , २०७९
विष्णु अधिकारी, बर्दिया । बालबालिकाको सर्वाङ्गिण वृद्धि विकासका लागि उनीहरुको उचित स्याहार सुसार महत्वपुर्ण मानिन्छ । यसैलाई मध्यनजर राख्दै थारु महिला उत्थान केन्द्र बर्दियाले बालबालिकाको सपना परियोजना अन्तर्गत ५ बर्ष मुनिका बालबालिकहरुको वृद्धि अनुगमन तथा लेखाजोखा कार्यक्रम संचालनमा ल्याएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं. ९ स्थित बानुगाउँ र खुसलपटुवाका बालबालिकाहरुको उमेर अनुसार वृद्धि विकास भए नभएको थाहा पाउन पोषणको अवस्था लेखा जोखाकालागि बालबालिकाको तौल, उचाई र पाखुराको नाप लिने काम गरिएको छ । खोप लिने समय सम्मका बालबालिका हरुको वृद्धि विकासका बारेमा स्वास्थ्य संस्थाले तथ्यांक राख्ने भएता पनि खोप अवधि सकिएका बाल बालिकाहरुको पोषण अवस्था र वृद्धि विकासको जानकारी लिनका लागि स्क्रिनिङ्ग गरिएको संस्थाकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले चुरेकुञ्जलाई बताउनु भयो ।
नापतौलबाट उमेर अनुसार बालबालिकामा वृद्धि विकास नभएको पाईएमा उनीहरुलाई स्वास्थ्य संस्थामा पठाइ पोषण सहितको उपचारका लागि पठाइने बताईएको छ । प्लान इन्टरनेशनलको सहयोगमा नापजोखका लागि स्वास्थ्यकर्मीहरु तथा महिला स्वयंसेविकाहरुलाई आवश्यकता अनुसार खटाइएको छ । यस्तो सेवाले अभिभावकहरुलाई नजिकबाटै बालबालिकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज भएको अभिभावकको भनाई छ । परिक्षणका क्रममा जोखिम भएका बालबालिकालाई उपचारको पद्धतीमा ल्याई उनीहरुको वृद्धि विकास गर्न कार्यक्रमले टेवा पुगेको ठाकुरबाबा नगरपालिका वडा नं. ९ स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी टोप बहादर वि.क.ले जानकारी दिनु भएको छ ।
संस्थाले ठाकुरबाबा नगरपालिका वडा नं. २ खुलपुरमा गर्भवती तथा आमाहरु मार्फत बच्चाको स्याहार सुसार तथा चाँडो हुने विवाहका विषयमा ३÷३ महिनामा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी मार्फत संवाद कार्यक्रम गरिदै आएको छ । आजका बालबालिका भोली देशको कर्णधार हुने भएकाले उनीहरुको बिकासका लागि बाबुआमा दुबैको अहम भुमिका रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले बताउनु भयो । वालवालिकाको सपना गर्भदेखि नै सुरु हुने भएकाले गर्भवती महिलालाई परिवारका सदस्यहरुले सबै किसिमको सहयोग पुग्ने काम गर्नुपर्ने उहाँको जोड छ । बालबालिकाको मस्तिष्क तथा शारिरिक विकासका लागि परिवारका सदस्यहरुको अहम भुमिका हुने प्रमुख गिरिको भनाई छ ।
स्थानीय पालिकाहरुले विद्यालयमा नै वालविवाह, लागु औषधका विषयमा कम्तीमा महिनाको एकपटक स्वास्थ्य संस्था मार्फत विद्यालय शिक्षा दिनुपर्ने प्रमुख गिरीले बताउनु भएको छ । सामुदायिक संवाद कार्यक्रममा आमा गर्भवती भएको बेलामा बुवाहरुले आमालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्ने सहभागिहरुको जोड छ । सबै बालबालिका संग अलग अलग प्रतिभा हुने भएकाले अन्य बालबालिकाहरुसँग तुलना गर्न नहुने कुरामा सजग रहन अभिभावकहरुलाई बताइएको छ । सपना परियोजनाले बालवालीकाको सर्वांगिण विकासमा सहयोग पुर्याउने उद्देश्य राखिएका छ । सहभागिहरुले संवाद समुहमा बालविवाह, बालबालिकाको हेरचाह, जन्मदर्ता, विवाहदर्ता लगाएत समाजमा देखिएको टड्कारो समस्याका विषयमा छलफल हुने गरेको आबाज उठाएका छन् ।