बन डढेलो नियन्त्रण अभियान अन्तरगत सप्ताहब्यापी सचेतना
- शनिबार चैत ४ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियामा वनडढेलो नियन्त्रणका लागि सचेतना जगाउन प्रभातफेरी गरिएको छ । वनलाई डढेलो लाग्नबाट जोगाऔँ भन्ने मूल नारा सहित जिल्लाका बनजंगल, संरक्षणकर्मी तथा सरोकारवाला निकाय र सामुदायिक वनका अभियन्ताहरू प्रभातफेरीमा सहभागिता भएका छन् ।
प्रभातफेरी गुलरियाको राधाकृष्ण चोक देखी शुरु भई जिप्रका हुँदै बगलामुखी स्कुल चोक पुगी पुन राधाकृष्ण चोकमा पुगी कोणसभामा परिणत भएको थियो । प्रभातफेरी कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बन डढेलो नियन्त्रण गर्न नागरिक स्तरमा सचेतनाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा वनमा आगलागी हुनुमा मानविय कारण नै बढि हुने पाइएकोले समुदायमा सचेताना फैलाउन सरोकारवाला निकायले ध्यान पु¥याउनु पर्ने बताउनु भयो ।
वनमा डढेलोलाई नियन्त्रण गर्नुभन्दा डढेलो लाग्न न दिन ध्यान जान आवश्यक रहेकोमा जोड दिनु भयो । डढेलो नियन्त्रण गर्नका लागि सम्बन्धित निकायहरूले एकअर्कामा सूचना पुर्याउनु पर्ने उहाँको भनाई छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले बन जंगल वन्यजन्तुको प्रमुख बासस्थान भएकाले डढेलो लाग्नबाट सवैजना सचेत हुनु पर्ने बताउनु भयो । सामुदायिक वनका उपभोक्ताहरूले वन डढेलो नियन्त्रणका लागि महत्वपुर्ण भूमिका खेल्दै आएको चुरेकुञ्जलाई बताउनु भयो । डढेलो बाट दीर्घकालीन रुपमा हुने क्षतिको बारेमा नागरिकले बुझी नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।
सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष शर्मा चौधरीको अध्यक्षतामा प्रभातफेरी कार्यक्रम गरिएको थियो । डिभिजन वन कार्यालय बर्दियाको समन्वयमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बर्दियाको आयोजनामा कार्यक्रम गरिएको थियो । प्रभातफेरी कार्यक्रममा नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख डिभिजन वन कार्यालयका प्रमुख, फेकोफनका केन्द्रिय सदस्य, फेकोफन बर्दियाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा पदाधिकारीहरू र विभिन्न सामुदायिक वनका उपभोक्ताहरूको उपस्थिति रहेको थियो । डढेलो नियन्त्रण अभियान अन्र्तगत चैत्र १ गतेदेखि शुरु भएको सचेतना कार्यक्रम ७ गते सम्म गरिने बताईएको छ ।